काठमाडौं– भेटरान बलिउड अभिनेता धर्मेन्द्र मुम्बईको ब्रिच क्यान्डी अस्पतालबाट बुधबार बिहान डिस्चार्ज भएका छन् । ६ दशकसम्म दर्शकलाई मनोरञ्जन दिलाएका ८९ वर्षीय यी कलाकार स्वास्थ्यमा समस्या आएपछि उक्त अस्पतालमा भर्ना भएका थिए ।

इकोनोमिक टाइम्सको अनलाइन संस्करणमा बुधबार बिहान ११ बजेर ६ मिनेट जाँदा प्रकाशित समाचारमा धर्मेन्द्र अस्पतालबाट डिस्चार्ज भएको खुसियालीमा उनका समर्थकहरुले सोसियल मिडियामा उनले अभिनय गरेको बहुचर्चित सिनेमा सोलेबाट प्रेरित मेमको लहर चलाएको उल्लेख छ ।

रिपोर्टहरुका अनुसार धर्मेन्द्र श्वासप्रस्वासमा समस्या आएपछि ३१ अक्टोबरमा अस्पताल भर्ना भएका थिए । भारतको एनडीटीभीले प्रसारण गरेको रिपोर्टमा धर्मेन्द्रको उपचारको सुपरीवेक्षण गरेका डा. प्रतित सम्दानीले उनी बुधबार बिहान साढे ७ बजेतिर अस्पतालबाट डिस्चार्ज भएको पुष्टि गरेको र अब घरैमा परिवारको रेखदेखमा उनको उपचार जारी रहने बताएको उल्लेख छ ।

मिडियाहरुमा भने केही दिनदेखि धर्मेन्द्रको निधन भएको हल्ला चलिरहेको छ । तिनै हल्लाको आधारमा चर्चित व्यक्तित्वहरुले पनि धर्मेन्द्रलाई श्रद्धाञ्जली दिएका थिए । नेपालमै पनि वरिष्ठ लेखक हरि अधिकारीसम्मले धर्मेन्द्रको निधन भइसकेको भन्दै श्रद्धाञ्जली दिन भ्याएका थिए ।

धर्मेन्द्रको परिवारले विज्ञप्ति जारी गरी भ्रामक हल्लाको पछि नलाग्न पनि शुभचिन्तकहरुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय