नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)– अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बाट प्राप्त अनुदानबाट बन्ने न्यु बुटवल सबस्टेसन र प्रसारण लाइनको निर्माण बुधबार सुरु भएको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका–१३ मा एमसिए नेपालले बुधबार एक कार्यक्रमको आयोजना गरी दुवै संरचना निर्माण कार्यको शुभारम्भ गरेको छ ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिनआर थम्प्सनले संयुक्त रूपमा प्रसारण लाइन निर्माणको शुभारम्भ गरेका थिए ।
अर्थमन्त्री खनालले यो सबस्टेसन र प्रसारण लाइन निर्माण सम्पन्न भएसँगै प्रत्यक्ष रूपमा दीर्घकालीन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । ‘स्वच्छ ऊर्जामा पहुँचको विस्तार, क्षेत्रीय ऊर्जा व्यापारमा अभिवृद्धि तथा दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्ने राष्ट्रिय लक्ष्यमा सहयोग पुर्याउने सरकारको सशक्त प्रतिबद्धता यस आयोजनामा प्रतिविम्बित भएको छ । एमसीसी र एमसिए नेपालको सहयोगबाट हामी राष्ट्रको हितका लागि सम्झौतालाई कार्य रूपमा रूपान्तरण गर्दै छौं,’ उनले भने ।
राजदूत थम्प्सनले दुई वर्षदेखि निरन्तर प्रयासर गर्दै आज यहाँसम्म आइपुगेको बताए। उनले भने, ‘यसले नेपालका लागि आर्थिक वृद्धिसँगै खुला व्यापारमा पनि वृद्धि हुनेछ । प्रसारण लाइन तथा सबस्टेसनजस्ता आयोजनाले परिवार तथा व्यवसायमा सहज विद्युत् आपूर्ति विस्तार गर्नुका साथै मुलुकभरि व्यापार वृद्धि, रोजगारी तथा प्रगतिका लागि अवसरहरू सिर्जना गर्नेछ । आजको यो कार्यक्रम सहकार्यबाट केकति हासिल गर्न सकिन्छ भन्ने प्रमाण हो ।’
जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौतीप्रसाद यादवले परियोजनामार्फत स्थानीयलाई सीपको आधारमा समेट्न सक्ने गरी अगाडि बढ्नुपर्ने बताए। ‘यो परियोजनालाई सबैले हातेमालो गरी अगाडि बढाउँदै लैजानुपर्छ,’ उनले बताए ।
एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गत निर्माण गर्न लागिएका यी नयाँ पूर्वाधारले नेपालको विद्युतीय सञ्जाललाई सशक्तीकरण गर्नुका साथै नेपाल र भारतबीच महत्त्वपूर्ण ऊर्जा व्यापार अन्तरसम्बन्ध स्थापना गर्नेछ । अर्थमन्त्री खनाल, नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत थम्प्सन, एमसीसीका आवासीय राष्ट्र निर्देशक डायन फ्रान्सिस्को, एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टलगायत स्थानीय जनप्रतिनिधिको उपस्थितिमा निर्माण शुभारम्भ कार्यक्रम सम्पन्न भएको थियो ।
निर्माण सुरु भएको १८ किलोमिटर प्रसारण लाइनले ४०० केभी न्यु बुटवल सबस्टेसनलाई नेपाल–भारत सीमासँग जोड्नेछ । करिब ५ करोड अमेरिकी डलर लगानीमा निर्माण गरिने यी पूर्वाधारले आगामी दशकभित्रमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य लिएको ऊर्जा व्यापार सम्झौतालाई सघाउ पुर्याउनेछ ।









