काठमाडौं– नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठसहितका पदाधिकारी र नेपालका लागि पाकिस्तानी राजदूत हैदर साहबीच भेटवार्ता भएको छ । चेम्बर भवन कान्तिपथमा बुधबार भएको भेटमा दुई देशबीच आर्थिक सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएको चेम्बरले जनाएको छ ।

छलफलमा चेम्बर अध्यक्ष श्रेष्ठले नेपालमा औद्योगिक तथा व्यावसायिक वातावरण बनाउन चेम्बरले नेतृत्वदायी भूमिका खेलेको जानकारी गराए । उनले नेपाली उद्योगी व्यवसायीहरू पाकिस्तानसँग आर्थिक सम्बन्ध विस्तार गर्न इच्छुक रहेको जानकारी गराउँदै नेपालमा लगानी गर्न आग्रह गरे ।

नेपालमा जलविद्युत्, पर्यटन, कृषि, जडीबुटी, खानी लगायत क्षेत्रमा लगानीकर्ता आकर्षित गर्न उनले राजदूत साहलाई सुझाए ।

चीनले नेपाललाई आठ हजार वस्तुहरूमा दिएको भन्सार सुविधाका कारण पनि नेपालमा लगानीको उपयुक्त वातावरण रहेको उनले जानकारी गराए । अध्यक्ष श्रेष्ठले व्यावसायिक वातावरण विस्तार गर्न नेपाली र पाकिस्तानी व्यवसायीबीच ‘बायर्स–सेलर्स मिट’ गर्न प्रस्ताव गरे ।

राजदूत साहले पाकिस्तानले नेपालसँग विभिन्न क्षेत्रमा सम्बन्ध स्थापित गर्न चाहेको जानकारी दिँदै चेम्बरजस्ता निजी क्षेत्रका संस्थाहरूले उल्लेखनीय भूमिका निर्वाह गर्न सक्ने बताए पाकिस्तानी राजदूतले नेपालमा लगानीका सम्भावना र प्रमुख क्षेत्रहरूबारे चासो व्यक्त गरेको चेम्बरको विज्ञप्तिमा उल्लेख छ ।

चेम्बर पदाधिकारी र राजदूतबीच दुई देशका बीचमा रहेका व्यापारिक कठिनाइबारे पनि विवेचना भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय