चितवन– अण्डाको लागत मूल्य निरन्तर उकालो लागेको छ । पोल्ट्री व्यवसायी मञ्चले कृषि तथा वन विज्ञान विश्वविद्यालयका विज्ञहरुको समिति बनाई निकालेको हिसाबअनुसार यसअघिको तुलनामा लागत मूल्य बढेको हो ।
लागत मूल्य अध्ययन समितिका सदस्यसचिव कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका उपप्राध्यप्क्षक डा अनन्त दाहालका अनुसार अहिले एउटा अण्डाको लागत मूल्य १९ रुपैयाँ १२ पैसा पर्न आउँछ । विगतमा लागत मूल्य १६ रुपैयाँ ५६ पैसा थियो । तीन वर्षअघि सरकारी र निजीक्षेत्रका भेटेरिनरियन चिकित्सकहरुले लागत मूल्य निकालेका थिए ।
डा दाहालका अनुसार १० हजार लेयर्स कुखुरापालन गरी अण्डा उत्पादन गर्दा लाग्ने अण्डाको मूल्य निकालिएको हो । यस अनुसार चल्लाको मूल्य प्रतिगोटा १५० रुपैयाँका दरले १५ लाख रुपैयाँ, तीन प्रकारका दाना, औषधि र भ्याक्सिन गरी ३ करोड ४८ लाख ८८ हजार ८०० रुपैयाँ खर्च निकालिएको छ । यसमा शुरूमा चल्लालाई खुवाउने एल वान दाना एउटा चल्लालाई दुई किलो, जसको मूल्य प्रतिकिलो ६८ रुपैयाँ राखिएको छ । हुर्काउलो कुखुराका लागि ६ किलो (एल टु दाना), यसको सरदर मूल्य ६१ रुपैयाँ राखिएको छ । १९ हप्तादेखि ८० हप्तासम्मको अण्डा दिने समयका लागि ४८ किलो एलथ्री दाना एउटा कुखुराले खान्छ । जसको मूल्य प्रतिकिलो ६० रुपैयाँ ५० पैसा पर्छ । त्यस्तै औषधि र भ्याक्सिनमा ११ लाख रुपैयाँ खर्च हुने उनले जानकारी दिए ।
त्यसैगरी मजदुर, भेटेरिनरी चिकित्सक, व्यवस्थापक, विद्युत्, धानको भुस, खोरको मर्मत, खोरमा त्रिपाल, चल्ला तातो बनाउने ग्यास, अण्डाको क्रेट र डिजेल गरी ६० लाख ५८ हजार ६९६ रुपैयाँ खर्च हुने दाहालले बताए । जसमा मजदुर खर्च २५ लाख २० हजार, भेटेरिनरी चिकित्सक (आंशिक) को ४ लाख ५० हजार, व्यवस्थापकको ७ लाख २० हजार, विद्युत्को २ लाख १३ हजार ९९६, धानको भुसको ४ लाख, खोर मर्मत ३ लाख ५० हजार, ५ ओटा खोरमा त्रिपाल राख्दा १ लाख ५० हजार, ग्यासको ४० हजार रुपैयाँ लागत निकालिएको छ । यस्तै अण्डाको क्रेटको ८ लाख ९६ हजार र डिजल एवं जेनेरेटर खर्च ३ लाख १९ हजार रुपैयाँ लागत निकालिएको उनले जानकारी दिए ।
त्यसैगरी अण्डा ढुवानीको मजदुर खर्च ६ लाख ३० हजार, ढुवानी सवारीको २ लाख ५० हजार र खोरको ह्रासकट्टी १९ लाख ७२ हजार ५००, मजदुरको आवासको ह्रासकट्टी २ लाख र बैंक ब्याज ४९ लाख ५९ हजार ७५० रुपैयाँ लागत निकालिएको छ । यी सबैको एकमुष्ट ८० लाख १२ हजार २५० रुपैयाँ हुन आउँछ ।
सम्पूर्ण खर्च जोड्दा १० हजार कुखुरापालन गरी अण्डा उत्पादन गर्दा ४ करोड ९८ लाख ५९ हजार रुपैयाँ खर्च हुने उनको भनाइ छ । डा दाहालले भने, ‘१० हजार कुखुरापालन गरी अण्डा उत्पादनपछि बजारसम्म पु¥याउँदा लाग्ने सम्पूर्ण खर्चलाई जोडेर लागत मूल्य निकालेका हौं ।’ त्यसैको आधारमा प्रतिगोटा लागत मूल्य १९ रुपैयाँ १२ पैसा पर्न आएको उनको भनाइ छ । पालिएका सबै कुखुराले शतप्रतिशत अण्डा नदिने, अण्डा बजारसम्म पु¥याउँदा नोक्सान हुनेजस्ता विषयवस्तु समेतको अध्ययन गरी लागत मूल्य निर्धारण गरिएको उनले बताए ।
चल्ला राखेदेखि अण्डा दिई ८० हप्तासम्म पाल्दा २ हजार कुखुरा मर्ने हुँदा ८ हजार कुखुराले २६ लाख ८८ हजार अण्डा पार्छन् । जसको ३ प्रतिशत फुट्ने र विक्री अयोग्य हुन्छ । दाहालका अनुसार यसबाट ८० हजार ६४० ओटा अण्डा बिक्री गर्न अयोग्य हुन्छ । यसरी हेर्दा २६ लाख ७ हजार ३६० अण्डा विक्री गर्न योग्य हुन्छन् ।
यसैगरी आम्दानीतर्फ अण्डा दिन छाडेपछि ८ हजार कुखुरा २०० रुपैयाँका दरले विक्री गर्दा १६ लाख र ३०० बोरा मल २०० रुपैयाँका दरले विक्री गर्दा ६० हजार गरी अन्य आम्दानी १६ लाख ६० हजार हुने उनको भनाइ छ ।
अध्ययन समितिको संयोजकमा सोही विश्वविद्यालयका प्राडा रेवन्तकुमार भट्टराई, प्राडा सुविर सिंह, सहप्राध्यापक डा अनिलकुमार तिवारी र सदस्यसचिवमा उपप्राध्यापक डा अनन्त दाहाल छन् ।
अध्ययन प्रतिवेदनमाथि सरोकारवालाबीच अन्तरक्रिया सम्पन्न भएको छ । मञ्चले एक विज्ञप्ति जारी गर्दै अध्ययन समितिले बुझाएको प्रतिवेदनमाथि छलफल गरी निर्णय गरेको जनाइएको छ ।
छलफलमा पन्छीरोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डा विजयकुमार श्रेष्ठ, पशु सेवा कार्यालय चितवनका प्रमुख डा प्रभात न्यौपाने, भरतपुर महानगरपालिकाका वरिष्ठ कृषि अर्थविज्ञ तेजेन्द्र पौडेल, उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष राजेन्द्र ओली, उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष शंकर गिरी, चितवन उद्योग संघका उपाध्यक्ष गोपाल गैरे, चितवन चेम्बर अफ कमर्सका कोषाध्यक्ष प्रकाश श्रेष्ठलगायत पोल्ट्रीसँग सरोकार राख्ने संघ संस्थाका प्रतिनिधि सहभागी दिए ।
नेपाल कुखुरा व्यवसायी मञ्चले अण्डाको लागत मूल्य निर्धारणका लागि गठित समितिले अण्डा उत्पादनका लागि लाग्ने विभिन्न खर्चहरुको विश्लेषण गरी वर्तमान अवस्थामा अण्डाको प्रतिगोटा उत्पान लागत १९ रुपैयाँ १२ पैसा कायम भएकाले उक्त लागत मूल्यलाई समर्थन गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ । सो मूल्यलाई जिल्ला पशु सेवा कार्यालय हुँदै कृषि तथा पशुपछी विकास मन्त्रालय पठाई अनुमोदन गराउने निर्णय भएको संघका अध्यक्ष रघुनाथ भट्टले बताए । रासस









