काठमाडौं– चेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले अहिले मुलुकमा लगानीको लागि उपयुक्त समय आएको भन्दै व्यवसायीलाई यो मौकाको सदुपयोग गर्न आग्रह गरेका छन् । नेपाल समुद्रपार निकासी पैठारी संघले बुधबार संघको सचिवालयमा आयोजना गरेको छलफल कार्यक्रममा उनले यस्तो टिप्पणी गरेको संघले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

‘लगानी गर्ने भनेकै यस्तै चुनौतीपूर्ण समयमा हो । व्यवसायीले चुनौतीभित्रै अवसर खोज्ने हो, अवसर हुने पनि चुनौतीभित्रै हो । अहिले जसले आँट गरेर लगानी गर्न सक्छ, त्यसले सफलता पाउँछ,’ अध्यक्ष अग्रावलले भने, ‘अहिले बैंकमा तरलता प्रशस्त छ । उनीहरु ऋण दिन तयार छन् । यो बेला सस्तो ब्याजदरको ऋण लिएर काम गर्नेले राम्रो प्रतिफल पाउँछ ।’

अध्यक्ष अग्रवालले निजीक्षेत्रका संघसंस्थासँग हातेमाले गरेर अघि बढ्न चेम्बर तयार रहेको बताउँदै चेम्बर आन्दोलनका विविध आयामबारे पनि प्रकाश पारेका थिए ।

कार्यक्रममा संघका अध्यक्ष शिवकुमार अग्रवालले नेपाल चेम्बर अफ कमर्स र नेपाल समुद्रपार निकासी पैठारी संघले क्रमशः ७५ र ५० वर्षको इतिहास बोकेका संस्थाहरु भएको र दुवैका सरोकारका विषय लगभग समान रहेकोले सहकार्य गरेर अघि बढ्ने संघको उद्देश्य रहेको बताए । व्यवसायीमा अन्योल छाएको अहिलेको अवस्थामा संघ सदस्यहरुको मनोबल उकास्न लागिपरेको उनको भनाइ थियो । यो बेला चेम्बरलगायत निजी क्षेत्रका संस्थाहरुको सहकार्यले व्यवसायीमा सकारात्मक ऊर्जा प्राप्त हुने उनले बताए ।

संघले व्यवसायको अवस्था र आगामी सम्भावना तथा आपसी हितका विषयमा चेम्बरका पदाधिकारीसँग छलफल गर्न कार्यक्रम आयोजना गरेको जनाएको छ । कार्यक्रममा चेम्बरका तर्फबाट अध्यक्ष कमलेशकुमार अग्रवाल, अनरेरी उपाध्यक्ष अर्जुनप्रसाद शर्मा र उपाध्यक्ष सन्तोष पाण्डे सहभागी थिए । संघको तर्फबाट कार्यसमितिका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय