काठमाडौं– बुधबार चाँदीको मूल्यले विगतको रेकर्ड ताडेको छ । बुधबारको मूल्यले पुस १४ गते कायम भएको प्रतितोला ४ हजार ८९५ रुपैयाँको कीर्तिमान तोडेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि चाँदीको मूल्य प्रतितोला ४ हजार ९३५ रुपैयाँ तोकेको छ ।
बुधबारको मूल्य मंगलबारको तुलनामा प्रतितोला ५५ रुपैयाँ बढी हो । मंगलबार चाँदी प्रतितोला ४ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार सुनको भाउ भने थोरै घटेको छ । महासंघले बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार ७०० रुपैयाँ तोकेको छ । यो अघिल्लो दिनको तुलनामा ४ सय रुपैयाँ कम हो ।
सुन अघिल्लो दिन प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । पुस १३ गते सुनको भाउले कीर्तिमान बनाएको थियो । त्यस दिन सुन प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।









