काठमाडौं– गत भदौ ३० गतेदेखि ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र शहरी विकास गरी तीन मन्त्रालय सम्हाल्दै आएका कुलमान मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले बुधबार राति प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा पत्र बुझाएका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीले गत सोमवार राजनीतिक गतिविधिमा संलग्न रहेको भन्दै कुलमानसहित सञ्चारमन्त्री जगदिश खरेल र खेलकुद मन्त्री बब्लु गुप्तालाई राजीनामा दिन आग्रह गरेको समाचार बाहिरिएको थियो ।

घिसिङले भने मंगलवार नेपाल इन्जिनियर्स एसोसिएसनको कार्यक्रममा आफूले कुनै पनि पार्टीको सदस्यता नलिएको दाबी गरेका थिए । यो अभिव्यक्तिपछि उनको आलोचना भएको थियो ।

घिसिङको संरक्षकत्वमा उज्यालो नेपाल पार्टी स्थापना भएको थियो । उक्त पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गरेपछि घिसिङ रास्वपामा पहिलो वरियताका उपसभापति बनेका छन् ।

घिसिङ नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक पनि हुन् । पहिलोपटक २०७३ भदौ २९ को मन्त्रिपरिषद् बैठकको निर्णयबाट नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनेका घिसिङले दोस्रोपटक २०७८ साउन २७ गते विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका थिए । सर्वसाधारणले १८ घन्टासम्म झेल्नुपरेको लोडसेडिङ हटाएको जस घिसिङले पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय