काठमाडौं– संस्थापन पक्षले मान्यता नदिएको नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंमा सुरु भएको छ ।
विशेष महाधिवेशनको उद्घाटन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले गरेका छन् । यही पुस २७ र २८ गते आयोजना गरिएको विशेष महाधिवेशनको उद्घाटनअघि उपत्यकाका विभिन्न स्थानबाट नेता, कार्यकर्ता भेला भई र्याली, बाजागाजा र झाँकीका साथ आयोजनास्थल प्रवेश गरेका थिए ।
उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा बृहत् मञ्चको व्यवस्था गरिएको छ भने मञ्च अगाडि हजारौंको संख्यामा नेता, कार्यकर्ताको उपस्थिति रहेको छ । मञ्च वरिपरि कांग्रेसको झण्डा, गेट, ब्यानर तथा प्रचारप्रसारका सामग्री राखेर सजाइएको छ । विशेष महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँले गरेका छन् ।
विशेष महाधिवेशनको उद्घाटनपछि बन्दसत्र यही पुस २८ गते बिहानदेखि भृकुटीमण्डपको सभाहलमा हुनेछ । गत असोज २९ गते कांग्रेसका ५४ दशमलव ५८ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशन मागका साथ केन्द्रीय कार्यालयमा निवेदन दर्ता भएको थियो ।
सभापति शेरबहादुर देउवा, कार्यबाहक सभापति पूर्णबहादुर खड्का लगायत संस्थापन पक्षधर नेता विशेष महाधिवेशनमा सहभागी छैनन् ।
उनीहरुले विशेष महाधिवेशनप्रति असहमति जनाएको छ । पार्टीको संस्थापन पक्षले नियमित महाधिवेशनको तालिका तोकेर प्रक्रिया सुरु भइसकेकाले विशेष महाधिवेशनको औचित्य स्वतः समाप्त भइसकेको जनाएको छ ।









