काठमाडौं– नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले नयाँ चार्टर्ड एकाउन्टेन्ट (सीए) सदस्यहरूलाई उनीहरूको करियर सुरुवातमा सहयोग पुर्याउने उद्देश्यले पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रम आगामी २० मार्च २०२६ मा आयोजना गर्न लागेको छ। यस कार्यक्रमले देशमा दक्ष लेखा जनशक्तिको बढ्दो मागलाई सम्बोधन गर्ने संस्थाको विश्वास छ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ अन्तर्गत स्थापना भएको उक्त संस्था नेपालमा लेखा व्यवसायको नियमन र प्रवर्द्धन गर्ने स्वायत्त संस्था हो। यस क्याम्पस प्लेसमेन्ट कार्यक्रम मार्फत आइक्यानले दक्ष, इमानदार र पेशागत रूपमा सक्षम चार्टर्ड एकाउन्टेन्टहरूलाई अग्रणी रोजगारदाता संस्थाहरूसँग जोड्ने उद्देश्य राखेको छ।
कार्यक्रममा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीहरू, उद्योग तथा उत्पादनमूलक संस्था, लेखापरीक्षण तथा परामर्श फर्महरू, विकास क्षेत्रका संस्थाहरू, स्टार्टअप तथा फिनटेक कम्पनीहरू तथा अन्य रोजगारदाताहरुको सहभागिता रहनेछ।
संस्थाले आयोजना गर्न लागेको पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रमको बारेमा संस्थाका अध्यक्षा सिए निल बहादुर सारु मगरले भन्नुभयो “नयां चार्टर्ड एकाउन्टेन्टहरूको करियर सुरुवातमा सहयोग गर्ने आइक्यानको दृढ विश्वास रहेको संस्थाको विज्ञप्तिमा उल्लेख छ । ‘यो कार्यक्रम प्रतिभाशाली चार्टर्ड एकाउन्टेन्टहरूलाई उपयुक्त अवसरसँग जोड्ने तथा नेपालमा दक्ष, इमानदार र नैतिक लेखा विज्ञहरूको बढ्दो आवश्यकता पूरा गर्ने उद्देश्यले अघि बढाइएको हो,’ विज्ञप्तिमा भनिएको छ ।
यस क्याम्पस प्लेसमेन्ट प्रोग्राममा संस्थाका नयाँ चार्टर्ड एकाउन्टेन्ट सदस्यहरू सहभागी हुने र रोजगारदाता संस्थाहरूसँग अन्तर्वार्ता तथा अन्तरक्रियाको अवसर प्राप्त गर्ने बताइएको छ ।
आइक्यानको यस पहलले चार्टर्ड एकाउन्टेन्टहरूको करियर विकासलाई सशक्त बनाउनुका साथै संस्थाहरूलाई गुणस्तरीय लेखा तथा वित्तीय जनशक्ति उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।









