काठमाडौं– नेपाली र भारतीय नागरिकले भारतीय रुपयाँ १०० भन्दा कम दरका बैंक नोट र कुनै पनि दरका नेपाली मुद्रा असीमित रूपमा भारत लैजान पाउने सरकारले स्पष्ट पारेको छ ।
तर, सन् २०१६ नोभेम्बर ९ पछि निष्कासन भई चलनचल्तीमा रहेका भारू २०० र ५०० दरका नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारतीय रुपैयाँ २५ हजारको सीमासम्म भारतबाट नेपालमा भित्र्याउन र नेपालबाट भारतमा लैजान सक्ने नेपाल राजपत्रमा प्रकाशित सूचनामा उल्लेख छ ।
२०१६ नोभेम्बर ९ भारत सरकारले भारू ५०० र १००० दरको नोट नचल्ने गरी नोटबन्दी घोषणा गरेको थियो । सूचनाअनुसार कसैले पनि सन् २०१६ नोभेम्बर ९ भन्दा अगाडि चल्तीमा रहेका भारतीय रुपैयाँ ५०० र १००० दरका नोटको कारोबार गर्न पाइने छैन । नेपाली मुद्राको हकमा नेपाल राष्ट्र बैंकले तोकिदिएको सीमाभन्दा बढी र भारतीय मुद्राको हकमा भारतबाहेक अन्य मुलुकमा लैजान वा पठाउन पाइने छैन । विदेशी विनिमय सटही कारोबार गर्ने इजाजतपत्रप्राप्त व्यक्ति वा संस्थाबाट कानुनबमोजिम प्राप्त गरेको विदेशी मुद्रा नेपालबाट बाहिर लैजान वा पठाउन पाइनेछ ।
विदेशी नागरिकको हकमा नेपाल राष्ट्र बैंकले तोकिदिएको सीमाभन्दा बढी विदेशी मुद्रा लैजान वा पठाउन परेमा निजले नेपाल प्रवेश गर्दा आपूmसँग ल्याएको नगद विदेशी मुद्राको हकमा त्यस्तो विदेशी मुद्राको रकम भन्सार अधिकृतसमक्ष घोषणा र प्रमाणित गरेको हुनु पर्नेछ ।









