काठमाडौं– चालु आर्थिक वर्ष २०८२–८३ को ६ महिनामा नेपालको वैदेशिक व्यापार १० खर्ब ८१ अर्ब ४ करोड रुपैयाँ नाघेको छ । यसमा निर्यात १ खर्ब ४२ अर्ब र आयात ९ खर्ब ३९ अर्ब २ करोड २८ लाख रुपैयाँ बराबर भएको भन्सार विभागले जनाएको छ । यस अवधिमा मुलुकको वैदेशिक व्यापार घाटा ७ खर्ब ९७ अर्ब ४८ लाख रुपैयाँ कायम भएको छ ।

विभागले आज सार्वजनिक गरेको गत साउनदेखि पुससम्मको वैदेशिक व्यापारको तथ्यांकअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष कुल वैदेशिक व्यापार १७ दशमलव ३६ र व्यापार घाटा १० दशमलव १५ प्रतिशतले बढेको छ । कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६ दशमलव ८६ र निर्यातको हिस्सा १३ दशमलव १४ प्रतिशत छ ।

वैदेशिक व्यापारमा नेपालको सबैभन्दा ठूलो साझेदारका रूपमा रहेको भारतबाट पछिल्लो ६ महिनामा ५ खर्ब ३२ अर्ब ४५ करोड ६७ लाख बराबरको वस्तु आयात भएको छ भने १ खर्ब १५ अर्ब ७४ करोड ३६ लाख रुपैयाँको वस्तु भारततर्फ निर्यात भएको छ । यो अवधिमा भारतसँगको व्यापार घाटा ४ खर्ब १६ अर्ब ७१ करोड ३० लाख रुपैयाँ नाघेको छ ।

अर्को छिमेकी मुलुक चीनसँगको पछिल्लो ६ महिनाको व्यापार घाटा १ खर्ब ९५ अर्ब ३६ करोड ८४ लाख रुपैयाँ छ । चीनबाट १ खर्ब ९६ अर्ब ९४ लाख बराबरको वस्तु आयात हुँदा ६४ करोड ९ लाख रुपैयाँ बराबरको मात्र निर्यात भएको विभागले जनाएको छ ।

नेपालको व्यापार घाटा बढी रहेका मुलुकहरुमा अर्जेन्टिना, संयुक्त अरब इमिरेट्स, इन्डोनेसिया, थाइल्यान्ड लगायत छन् । त्यस्तै, व्यापार नाफा रहेका मुलुकको शीर्ष स्थानमा डेनमार्क छ । पछिल्लो ६ महिनामा नेपालले डेनमार्कबाट ९ करोड १५ लाखको आयात र ५१ करोड २ लाख रुपैयाँको निर्यात गर्दा ४१ करोड ८६ लाख व्यापार नाफा देखिन्छ । रोमानिया, स्विडेन, इराक, नर्वेलगायत मुलुकसँग नेपालको व्यापार नाफामा छ ।

यो अवधिमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा उच्च छ । चालु गत साउनदेखि पुस मसान्तसम्ममा ५८ अर्ब २७ करोड ९२ लाख ७६ हजारको डिजेल, ३३ अर्ब ७ करोड २१ लाख ६८ हजार बराबरको पेट्रोल र २७ अर्ब ४ करोड २० लाख २६ हजार रुपैयाँ बराबरको खाना पकाउने ग्यास आयात भएको छ ।

त्यसैगरी यो अवधिमा २३ अर्ब २९ करोड ८३ लाख २२ हजारको स्मार्टफोन, ५७ अर्ब ४३ करोड ६२ लाख २० हजार बराबरको अप्रशोधित सोयाविन तेल, १४ अर्ब ४ करोड ९३ लाख रुपैयाँ बराबरको फलामजन्य वस्तु आयात भएको छ ।

त्यस्तै, नेपालबाट सोयाविन तेल ५६ अर्ब ८ करोड २४ लाख २६ हजार रुपैयाँको, ७ अर्ब १९ करोड ९५ लाखको अलैंची, ४ अर्ब ७८ करोड ४४ लाख रुपैयाँको सूर्यमुखी तेल र ३ अर्ब ११ करोड रुपैयाँको कार्पेट निर्यात भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय