काठमाडौं– नेपाल प्रहरीले पर्वतारोहण र ट्रेकिङका क्रममा उद्धार गरेको नक्कली कागजात बनाएर ठगी गरेको भन्दै ६ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नक्कली उद्धार (फेक रेस्क्यु)मा संलग्न विभिन्न ट्राभल कम्पनीका सञ्चालक पक्राउ गरी आइतवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा जयराम रिमाल, विवेक पाण्डे, रवीन्द्र अधिकारी, विवेकराज थपलिया, मुक्ति पाण्डे र सुभाष केसी छन् । पक्राउ परेका रिमाल र विवेक माउन्टेन रेस्क्यु सर्भिसमा, अधिकारी र थपलिया नेपाल चार्टर सर्भिस प्रालिमा तथा मुक्ति र केसी एभरेस्ट एक्सपिरियन्स एन्ड एसिस्टेन्स प्रालिमा आबद्ध छन् ।
पत्रकार सम्मेलनमा ब्युरोका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा मनोज केसीले पक्राउ परेका ६ जनामाथि राष्ट्रहितविरुद्धको कसुर, आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान जारी रहेको बताए ।
उनले माउन्टेन रेस्क्यु सर्भिस प्रालिले १ हजार २४८ जनाको उद्धार गरेको भनेकोमा १७१ जनाको उद्धार नक्कली रहेको अनुसन्धानबाट खुलेको जानकारी दिए । सोबापत उक्त कम्पनीले १० करोडभन्दा बढी अमेरिकी डलर बीमा दाबी गरेको पाइएको ब्युरोले जनाएको छ ।
यस्तै, नेपाल चार्टर सर्भिस प्रालिले ४७१ जना उद्धार गरेको भने पनि ७५ जनाको उद्धारै नगरी नक्कली कागजात बनाएको खुलेको छ । त्यसबाट उक्त कम्पनीले ८२ लाख डलर माग दाबी गरेको पाइएको छ ।
यसैगरी, एभरेस्ट एक्सपिरियन्स एन्ड एसिस्टेन्स प्रालिले ६०१ जनाको उद्धार गरेको कागजात रहेकोमा ७१ पर्यटक उद्धार शंकास्पद पाइएको छ । त्यसबाट उक्त कम्पनीले ११ लाख ५३ हजार अमेरिकी डलर माग दाबी गरेको ब्युरोले जनाएको छ ।
ब्युरो प्रमुख केसीले ‘फेक रेस्क्यू’को उजुरी अझै आइरहेको बताए । ‘विशेषगरी उच्च हिमाली क्षेत्रमा आउने विदेशी पर्यटकको उद्धार र उपचारको आवरणमा गैरकारोबार भएकाबारे उजुरी र विभिन्न सञ्चारमाध्यममा आएको खबरलाई लिएर अनुसन्धान शुरू गरेका थियौं,’ उनले भने । ‘साढे दुई महीना लगाएर अनुसन्धान गर्दा फेक रेस्क्युका धेरै पाटा खुलेको छन् । थप अनुसन्धान जारी छ ।’









