काठमाडौं– ३५ वर्षदेखि विभिन्न प्रकारका औषधि उत्पादन गर्दै आएको देउराली जनता फर्मास्युटिकल्सले चितवनको भरतपुरमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको अत्याधुनिक औषधी कारखाना खोल्ने भएको छ ।

४७५ करोड रुपैयाँ लगानीको प्रस्तावित कारखाना उत्पादनको विविधीकरण र उत्पादन क्षमता अभिवृद्धि गर्ने कम्पनीको योजनाको एक हिस्सा हो ।

प्रस्तावित नयाँ कारखानाको निर्माण कार्य २ वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । उक्त नयाँ परियोजना सम्पन्न भएपछि थप ५५० जनालाई प्रत्यक्ष रोजगारीको अवसर सृजना हुने बताइएको छ।

‘हाम्रो उत्पादन विविधीकरण र उत्पादन क्षमता वृद्धि गर्न थप ४७५ करोड लगानी गर्ने यस पुनित प्रयासमा शीघ्र निर्णय सहित सहयोग प्रदान गर्न हामी नेपाल सरकारका सबै निकायहरु, नेपाली जनता र विशेष गरी तपाईं पत्रकार मित्रहरुको सहयोग, साथ र हौसलाको अपेक्षा गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

देउराली–जनता फर्मास्यूटिकल्स प्रालिले ३५ वर्षदेखि उच्च प्रविधि आयात गरी अत्यावश्यक औषधिहरू स्वदेशमै उत्पादन गर्दै आएको छ ।

कम्पनीले नेपालमा नयाँ र अत्यावश्यक औषधि उत्पादन विस्तार गर्ने आफ्नो उदेश्यलाई इमानदारीपूर्वक कार्यान्वयन गर्दै देशमा औषधि आयातमा रहेको परनिर्भरतालाई कम गर्दै औषधि उत्पादनको क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउनको लागि सयौं औषधिहरु नेपालमा पहिलो पटक विकास र उत्पादन गरी सफल इतिहास कोर्ने सौभाग्य प्राप्त गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीले २९६ प्रकारका जीवन रक्षक औषधिहरु अनुसन्धान गर्ने, उत्पादन गर्ने र ती उत्पादनको गुणवत्ता निर्धारण गर्ने अत्याधुनिक प्रविधि र उपकरण सहितको सुविधा सम्पन्न कारखाना निर्माण गरी अन्तर्राष्ट्रिय स्तरको गुणस्त भएका औषधिहरु नेपाली जनतालाई उपलब्ध गराइरहेको विज्ञप्तिमा उल्लेख छ । देउराली जनताले विभिन्न क्षमताका ६७५ जनालाई रोजगारी दिएको छ ।

देउराली–जनता नेपालको औषधि उत्पादन क्षेत्रमा प्रविधि हस्तान्तरणमार्फत उच्चस्तरीय अन्तर्राष्ट्रिय प्रविधि आयात गर्ने पहिलो उद्योग भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय