काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टर्कीको इस्तानबुल उडेको टर्किस एयरलाइन्सको वाइड बडी जहाजको एउटा इन्जिनमा धावनमार्ग छाडेको केही बेरमै आगलागी भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
बुधबार दिउँसो १ बजेर २९ मिनेट जाँदा उडेको फ्लाइट नम्बर टीके–७२७/ए३३३ जहाजले धावनमार्ग छाडेर उचाइ लिने क्रममा दायाँ इन्जिनमा आगो लागेको चालकदलले काठमाडौं एप्रोच कन्ट्रोलमा जानकारी गराएको प्राधिकरणको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले बताएको छ ।
इन्जिनमा आगो लागेको थाहा पाएपछि चालकदलले उक्त जहाजलाई बेर धार्केमाथिको आकासमा होल्ड गराई भारतको कोलकातातर्फ लगेको थियो । उक्त जहाज नेपाली समयअनुसार दिउँसो ३ बजेर ३ मिनेटमा कोलकाताको नेताजी सुभासचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रुपमा अवतरण गरेको थियो ।
उक्त जहाजमा २२५ यात्रु र चालक दलका सदस्य ११ गरी २३६ जना चढेका थिए ।
जहाजको इन्जिनमा आगलागी भएको जानकारी पाएपछि उक्त जहाजलाई त्रिभुवन विमानस्थलमै आकस्मिक अवतरण गराउने उद्देश्यले १५ मिनेट विमानस्थल बन्द गरेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिएका छन् । आकस्मिक अवतरणका लागि दमकल, एम्बुलेन्स लगायत आवश्यक सम्पूर्ण सुरक्षा व्यवस्था मिलाइएको उनको भनाइ छ । तर चालक दलका सदस्यले कोलकाता लैजाने भनेपछि त्यसै गर्न अनुमति दिएको उनले बताए ।









