काठमाडौं– भिडियो सेयरिङ एप टिकटकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा क्रममा हुन सक्ने भ्रामक, मिथ्या र हानिकारक सूचना प्रवाह रोक्न निर्वाचन आयोगलाई सहयोग गर्ने भएको छ ।
यस सम्बन्धमा निर्वाचन आयोग र टिकटकले बुधबार एक समझदारीपत्र आदानप्रदान गरेका छन् । समझदारीपत्र आदानप्रदान समारोहमा बोल्दै कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनका पक्षमा सङ्लिएको वातावरण धमिलिन नदिन ऐतिहासिक समझदारी भएको बताए ।
टिकटकसँग समझदारी गरेपछि यसका माध्यमबाट आचारसंहिता उल्लंघन, मिथ्या सूचना रोक्न सहयोग पुग्ने विश्वास गरिएको कार्यबाहक प्रमुख आयुक्त भण्डारीले बताए । टिकटकले निःशुल्क रूपमा निर्वाचनमा हुने दुरुपयोग रोक्न सहयोग गर्न लागेकामा उनले धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराई र टिकटकका तर्फबाट सामाजिक नीति र सरकारी सम्बन्ध प्रमुख फेर्दोस अल मत्ताकिनले समझदारीपत्र आदानप्रदान गरेका थिए ।
यसबाट प्रतिनिधिसभा सदस्य निर्वाचनको स्वच्छता कायम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । निर्वाचनमा स्वच्छता प्रवर्द्धन तथा आयोगको क्षमता अभिवृद्धिका लागि टिकटकले सहयोग गर्ने भएको छ । साझेदारीले निर्वाचनसम्बन्धी सही, भरपर्दो र समयमै सर्वसाधारणको पहुँचमा सूचनाको पहुँच पुर्याउन सहयोग पुग्ने विश्वास आयोगले गरेको छ ।
समझदारीले निर्वाचनलाई असर पार्नसक्ने भ्रामक सूचना तथा हानिकारक सामग्रीको नियन्त्रणका लागि आयोगबाट भइरहेको प्रयासमा योगदान पुर्याउने विश्वास गरिएको छ ।









