काठमाडौं– चालु आर्थिक वर्षको पहिलो सात महिनामा १२ खर्ब ९१ अर्ब ६३ करोड २० लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ ।
भन्सार विभागका अनुसार उक्त अवधिमा ११ खर्ब २३ अर्ब ४८ करोड ६२ लाखको आयात र १ खर्ब ६८ अर्ब १४ करोड ५८ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । यो अवधिमा मुलुकले ९ खर्ब ५५ अर्ब ३४ करोड ३ लाख रुपैयाँ घाटा बेहोरेको छ ।
भारतबाट बितेका सात महिनामा ६ खर्ब २९ अर्ब २९ करोड ५९ लाखको आयात र १ खर्ब ३७ अर्ब ५१ करोड ७४ लाख रुपैयाँको निर्यात हुँदा मुलुकले ४ खर्ब ९१ अर्ब ७७ करोड ५१ लाख रुपैयाँ व्यापार घाटा बेहोरेको छ । चीनबाट २ खर्ब ३५ अर्ब ३८ करोड २३ लाखको आयात र ९० करोड १ लाख रुपैयाँ बराबरको निर्यात हुँदा २ खर्ब ३४ अर्ब ४८ करोड २२ लाख बराबरको घाटा भएको छ ।
विभागले सार्वजनिक गरेको विवरणअनुसार अर्जेन्टिनासँग ६६ अर्ब ११ करोड ६६ लाख, संयुक्त अरब इमिरेट्ससँग ३९ अर्ब ७७ करोड ९८ लाख, इन्डोनेसियासँग १२ अर्ब ६४ करोड ४५ लाख बराबर व्यापार घाटा छ ।
व्यापार नाफा बढी रहेका मुलुकमा भने रोमानियासँग यो अवधिमा ५ करोड ५२ लाख, नर्वेसँग ३ करोड ३३ लाख र आइसल्याण्डसँग २ करोड ५७ लाख रुपैयाँ व्यापार नाफा देखिन्छ ।
पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी छ । यो अवधिमा ६९ अर्ब ९१ करोड २२ लाखको डिजेल, ३८ अर्ब १३ करोड ८६ लाखको पेट्रोल र ३१ अर्ब ८५ करोड ९ लाख रुपैयाँ बराबरको खाना पकाउने ग्यास आयात भएको छ ।
यसैगरी, ३१ अर्ब ९ करोड १२ लाख बराबरको फलाम तथा फलामजन्य वस्तु, २१ अर्ब ३२ करोड ६१ लाख बराबरको स्मार्टफोन, ५९ अर्ब १३ करोड ८२ लाख बराबरको कच्चा सोयाबिन तेल, २१ अर्ब २० करोड रुपैयाँ बराबरको सुन आयात भएको छ ।
बढी निर्यात भएका वस्तुमा सोयाबिन तेल ६६ अर्ब ७८ करोड ८७ लाख बराबरको निर्यात भएको छ । अलैंची ८ अर्ब ६१ करोड २० लाख, सूर्यमुखी तेल ५ अर्ब ७८ करोड, कार्पेट ५ ७१ करोड ८८ लाख ६९ हजार रुपैयाँ बराबरको निर्यात भएको विभागको तथ्यांक छ ।









