काठमाडौं– श्रीमती, छोरी र ज्वाइँमाथि धारिलो हतियार प्रहार गर्ने एक नेपाली अमेरिकाको भर्जिनियामा प्रहरीको गोलीबाट मारिएका छन् ।

भर्जिनियाको फेयरफ्याक्स काउन्टीमा सोमबार बिहान ती नेपालीले श्रीमती, छोरी र ज्वाइँमाथि धारिलो हतियार प्रहार गरेका थिए । तीमध्ये छोरी र श्रीमतीको उपचारको क्रममा निधन भइसकेको स्थानीय प्रहरी प्रमुखले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

स्थानीय सञ्चारमाध्यममा आएको रिपोर्ट अनुसार सोमबार बिहान म्यान्टुआ क्षेत्रमा पर्ने मार्गेट म्यानर अपार्टमेन्टमा सो घटना भएको हो।

प्राप्त विवरण अनुसार आरोपित व्यक्ति ज्वाइँ घरबाहिर हिउँ पन्छाइरहेको बेला घरभित्रबाट चिच्याएको आवाज सुनेका थिए । उनी दौडेर घरभित्र पुग्दा आफ्नी श्रीमती रक्ताम्य अवस्थामा ढलेको र ससुराले सासुमाथि धारिलो हतियार प्रहार गरिरहेको देखेको थिए ।

ससुराले ज्वाइँमाथि पनि हतियार प्रहार गरेका थिए । घटनाबारे नजिकैको छिमेकीले खबर गरेपछि केही बेरमै प्रहरी घटनास्थल पुगेको थियो।

प्रहरी घटनास्थल पुग्दा आक्रमणकारी धारिलो हतियार लिएर बसिरहेका थिए । तयार फाल्न चेतावनी दिँदा नमानेपछि उनीमाथि गोली प्रहार गरिएको
प्रहरीले बताएको छ । सोही गोलीले ती पुरुषको मृत्यु भएको हो ।

प्रहरीले पीडित र आक्रमणकारी कसैको पनि परिचय खुलाएको छैन।

घाइते तीनै जनालाई अस्पताल लगिएकोमा दुई महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। एक पुरूषको अवस्था गम्भीर छ। घरमा एक वर्षका शिशुलाई भने कुनै चोटपटक नलागेको र उनलाई अहिले बाल संरक्षण सेवाको संरक्षणमा राखिएको प्रहरीले जनाएको छ। परिवारका आफन्तसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।

यता, नेपाली आप्रवासीसम्बन्धी समाचार प्रकाशन गर्ने अनलाइन नेप्योर्क डटकमले भने आक्रमणकारी र पीडितहरूको नाम सार्वजनिक गरेको छ।

नेप्योर्कका अनुसार धारिलो हतियार प्रहार गर्ने व्यक्ति ५० वर्षीय छत्रबहादुर थापा हुन्। घटनामा उनकी श्रीमती ५१ वर्षीया बिन्दा थापा, छोरी ३१ वर्षीया ममता थापाको मृत्यु भएको छ। ज्वाइँ ३५ वर्षीय सन्तोषकुमार बस्नेत गम्भीर घाइते छन्। उनी नेपालको कुन ठाउँका हुन् भन्ने खुलेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय