काठमाडौं– विश्वकै सबैभन्दा ठूलो कन्टेनर ढुवानी कम्पनी मर्स्कले सुरक्षा कारण देखाउँदै हर्मज जलडमरु (स्ट्रेट अफ हर्मज) बाट हुने मालबाहक जहाजहरूको आवतजावत रोक्ने बताएको छ।
डेनमार्कको उक्त कम्पनीले एक अनलाइन एडभाइजरी जारी गर्दै भनेको छ, ‘हामी अर्को सूचना नभएसम्मका लागि हर्मज जलडमरुमा हुने सबै जहाज पारवहन स्थगित गर्दैछौं।’
कम्पनीले थप स्पष्ट पारेको छ, ‘हाम्रा चालक दल, जहाज र ग्राहकका सामानहरूको सुरक्षा नै हाम्रो मुख्य प्राथमिकता हो।’
यसअघि इरानको रिभोलुसनरी गार्डले उक्त जलडमरु बन्द गर्ने घोषणा गरेको थियो।
साँघुरो भए तापनि यो मार्गले विश्वका ठूला कच्चा तेलवाहक जहाजहरूलाई स्थान दिन्छ। मध्यपूर्वका प्रमुख तेल र ग्यास निर्यातकर्ताहरू अन्तर्राष्ट्रिय बजारमा आपूर्ति गर्न यसैमा भर पर्छन् भने आयातकर्ता राष्ट्रहरू यसको निर्बाध सञ्चालनमा निर्भर रहन्छन्।
३९ किलोमिटर चौडा यो जलमार्ग खाडी क्षेत्रलाई ओमानको खाडीसँग जोड्ने अत्यन्तै महत्त्वपूर्ण जलमार्ग हो । विश्वको २० प्रतिशत तेल र ३३ प्रतिशत प्राकृतिक ग्यास यही जलमार्ग हुँदै आपूर्ति हुन्छ ।









