काठमाडौं– अमेरिका र इजरायलद्वारा जारी आक्रमणको प्रतिक्रियास्वरूप इरानले मध्यपूर्वभरि आक्रमण जारी राख्दा स्ट्रेट अफ हर्मुज (हर्मुज जलमार्ग वा हर्मुज जलडमरु) नजिक कम्तीमा तीनवटा जहाजमाथि आक्रमण भएपछि विश्वव्यापी तेल मूल्य बढेको छ।
बेलायतको युके मेरिटाइम ट्रेड अपरेसन्स सेन्टरले दुईवटा जहाजमा प्रहार भएको र तेस्रो जहाजको निकै नजिक ‘अज्ञात प्रोजेक्टाइल’ विस्फोट भएको जनाएको छ।
इरानले विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास ओसारपसार हुने उक्त जलमार्गबाट नहिँड्न जहाजहरूलाई चेतावनी दिएको छ।
विश्लेषकहरूका अनुसार उक्त जलमार्गको प्रवेशद्वारमा अन्तर्राष्ट्रिय ढुवानी लगभग ठप्प भएको छ, र दीर्घकालीन द्वन्द्वले ऊर्जा मूल्य अझै माथि पुर्याउन सक्ने चेतावनी दिएका छन्।
सोमबार बिहान एसियाली प्रारम्भिक कारोबारमा तेल मूल्य १० प्रतिशतभन्दा बढीले उकालो लागेको थियो, यद्यपि बिहानतिर त्यो वृद्धि केही कम भएको छ ।
ग्रिनविच मिनटाइम ०२ः०० बजे ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ७६.१६ अमेरिकी डलर पुगेको थियो, जुन ४ प्रतिशतभन्दा बढीले उच्च थियो, जबकि अमेरिकी बजारमा कारोबार हुने तेलको मूल्य पनि करिब ४ प्रतिशतले बढेर ६९.६७ डलर पुगेको थियो।
एमएसटी रिसर्चका ऊर्जा अनुसन्धान प्रमुख साउल काभोनिक भने बजार नआत्तिएको बताउँछन् । ‘अहिलेसम्म तेल ढुवानी र उत्पादन पूर्वाधार कुनै पक्षको प्रमुख लक्ष्य बनेको छैन भन्नेमा केही स्पष्टता आएको छ,’ उनले भने, ‘हर्मुज जलडमरूबाट आवतजावत पुनः सुरु हुने संकेत देखिए तेल मूल्य फेरि घट्न सक्छ ।’
तर केही विश्लेषकहरूले द्वन्द्व लामो समयसम्म जारी रहेमा मूल्य १०० डलरभन्दा माथि पुग्न सक्ने चेतावनी दिएका छन्।
आइतबार तेल उत्पादक राष्ट्रहरूको समूह ओपेकले मूल्य वृद्धि नियन्त्रण गर्न दैनिक २,०६,००० ब्यारेल उत्पादन बढाउने सहमति गरेको थियो, तर केही विज्ञहरूले यसले धेरै प्रभाव पार्नेमा शंका व्यक्त गरेका छन्।
एएका अध्यक्ष एडमन्ड किङले अवरोधले विश्वभर पेट्रोल मूल्य बढाउन सक्ने चेतावनी दिए। ‘मध्यपूर्वभरि भइरहेको अशान्ति र बमबारीले विश्वव्यापी तेल वितरण अवरुद्ध गर्ने उत्प्रेरक बन्न सक्छ, जसले अनिवार्य रूपमा मूल्य वृद्धि निम्त्याउँछ,’ उनले भने।
इरानको इस्लामिक रिभोलुसनरी गार्डस् कर्पले बेलायत र अमेरिकासँग सम्बन्धित तीनवटा ट्यांकरमा मिसाइल प्रहार भई ती जलिरहेको दाबी गरेको छ। बेलायत र अमेरिकाले यसबारे टिप्पणी गरेका छैनन्।
जहाज ट्र्याकिङ प्लेटफर्म केप्लरका अनुसार कम्तीमा १५० ट्यांकरहरू हर्मुज जलडमरूबाहिर खुला खाडी क्षेत्रमा एंकर लगाएर बसेका छन्, यद्यपि केही इरानी र चिनियाँ जहाजहरू आज त्यहाँबाट गुज्रिएका छन्।
केप्लरका होमायौन फलाकशाही भन्छन्, ‘इरानको धम्कीका कारण जलडमरू व्यवहारिक रूपमा बन्दजस्तै भएको छ।”
डेनमार्कको कन्टेनर ढुवानी समूह मर्क्सले आइतबार विज्ञप्ति जारी गर्दै बाब एल–मान्डेब जलडमरु र स्वेज नहर हुँदै गरिने यात्राहरू अस्थायी रूपमा रोक्ने र जहाजहरूलाई केप अफ गुड होप वरिपरि मोड्ने जनाएको छ।
शनिबार अमेरिका–इजरायलको आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनाइ मारिएपछि आइतबार इरान र इजरायलले एकअर्काविरुद्ध नयाँ हवाई आक्रमण गरेका थिए।
इरानले मध्यपूर्वका सबै जसो अमेरिकी सैन्य शिविरहरुमा आक्रमण गरेको खबर आएको छ। मध्यपूर्वमा कतार, बहराइन, युनाइटेड अरब इमिरेट्, कुबेत लगायत मुलुकमा अमेरिकी सैन्य अखडाहरु छन् ।









