दुबई– अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण उडानहरु रोकिँदा अलपत्र परको यात्रुलाई गन्तव्यमा पुर्याउन युनाइटेड अरब इमिरेट्सका विमानस्थलहरुबाट सीमित उडानहरु सुरु भएको गल्फ टाइम्सको रिपोर्टमा उल्लेख छ । युद्ध चौथो दिनमा प्रवेश गर्दा युएईका विमानस्थलहरुबाट सीमित उडानहरु सुरु भएको हो ।
तैपनि अधिकारीहरु वायुसेवा प्रदायकहरुले यात्रुलाई आफ्नो विमान कम्पनीबाट उडान हुने नहुने पुष्टि नगरी यात्रा नगर्न सुझाएका छन् ।
प्रस्थान पुष्टि भएका यात्रुले मात्र विमानस्थलको टर्मिनलसम्म पहुँच पाउने बताइएको छ । परिस्थितिको तरलतालाई मध्यनजर गर्दै विमानस्थल अधिकारीहरुले उडान तालिका निरन्तर परिवर्तन हुन सक्ने बताएका छन् ।
यात्रुलाई विमानस्थलतर्फ प्रस्थान गर्नुअघि सम्बन्धित वायुसेवा कम्पनीहरुबाट उडानको अवस्था थाहा पाउन सुझाव दिइएको छ ।
अहिले प्रस्थान उडानलाई प्राथमिकता दिइएको र उडान स्थगनका कारण अलपत्र परेका यात्रुका लागि विशेष प्रबन्ध गरिएको बताइएको छ ।
भारतीय वायुसेवा कम्पनी इन्डिगोले जेद्दाह विमानस्थलबाट भारतसम्मका लागि मार्च ३ मा १० ओटा विशेष राहत अपरेसनको योजना बनाएको छ । एयरस्पेस अनुमति पाएको खण्डमा ती उडान गरिने इन्डिगोको भनाइ छ ।
धेरै नेपाली आउजाउ गर्ने कतारको दोहा विमानस्थलबाट भने बन्द नै रहेको छ ।

मंगलबार दुबईबाट भारतको बंगलुरु आउँदै गरेको इमिरेट्सको जहाज ।









