धुलिखेल– काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ को पछिल्लो मतगणना परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अग्रता निरन्तर कायम छ । आज बिहानदेखि निर्वाचन क्षेत्र नं २ को धुलिखेल नगरपालिकाबाट गणना सुरु गरिएको हो ।
हालसम्ममा निर्वाचन क्षेत्र नं २ अन्तर्गतका धुलिखेल र पनौती नगरपालिकाका वडाहरू गणना सम्पन्न गरेको हो । पछिल्लो मत परिणामअनुसार काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ र १२ सम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बदनकुमार भण्डारीले ९ हजार ८५५ मत प्राप्त गरेका छन् । नेकपा (एमाले)का अशोककुमार ब्याञ्जु श्रेष्ठले ४ हजार १४९ र नेपाली कांग्रेसका मधुप्रसाद आचार्यले २ हजार ८०९ मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीका बसुन्धरा हुमागाईंले १ हजार २६८ र उज्यालो नेपाल पार्टीका ज्योत्सना संजुले ६७३ मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका रन्जीव श्रेष्ठले ३६४, प्रगतिशील लोकतान्त्रिक पार्टीका रमेशबहादुर घर्ती क्षेत्रीले २१, श्रम संस्कृति पार्टीका टंकबहादुुर लामाले ८८ मत र स्वतन्त्रका आसा तामाङले ५० प्राप्त गरेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ का कार्यालयले २० हजार ४४१ मत गणना भएकामा १ हजार ८८ मत बदर भएको जनाएको छ ।









