काठमाडौं– काठमाडौं उपत्यकाको वायु प्रदूषण उच्च भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यसबाट बच्न सबैलाई आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले काठमाडौं उपत्यकाको वायु प्रदूषणबाट मुटु, रक्तनली, फोक्सो, दम, क्यान्सर, आँखा, मिर्गौला रोगको जोखिम रहेकोले सचेत रहन आग्रह गरेका छन् ।

मन्त्रालयका प्रवक्ता बुढाथोकीले दीर्घरोगी र गर्भवती महिलालाई समेत वायु प्रदूषणले असर गर्ने भएकाले त्यस्ता समूह सकभर बाहिर ननिस्कनसमेत अनुरोध गर्नुभएको छ । वायु प्रदूषणले बालबालिका, ज्येष्ठ नागरिक एवं दम खोकीजस्ता श्वासप्रश्वाससम्बन्धी दीर्घरोगीलाई बढी असर गर्ने भएकाले विशेष सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले सबैलाई बिहान र बेलुका बाहिर ननिस्कन र बाहिर निस्कन परे मास्क लगाउन आग्रह गरेको छ । पुराना गाडीले वायु प्रदूपण बढाउने, वनमा डढेलो, उद्योगधन्दा र विभिन्न निर्माण सामग्रीमा भएका धुलोधुवाँका कारणले प्रदूषण बढेको उनको भनाइ छ ।

अझै एक हप्ता काठमाडौंमा प्रदूषण रहने मन्त्रालयले जनाएको छ । वायु प्रदूषणको कारण काठमाडौं उपत्यकाको आकाश धुम्म छ र घाम लाग्न सकेको छैन ।
वातावरण विभागका अनुसार केही दिनमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा प्रदूषणको स्तर बढ्दै गइरहेको छ । विशेषगरी काठमाडौं, पोखरालगायत देशका ठूला सहरमा मसिना कणहरु बढेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय