काठमाडौं– नेपालबाट उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीको पहिलो रोजाइमा जापान पर्न थालेको छ । विदेश गएर सबैभन्दा बढी व्यवस्थापन विषय पढ्ने गरेको पाइएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विदेशी शिक्षण संस्थामा उच्च शिक्षा अध्ययन गर्न जाने नेपालीका लागि दिइएको पूर्वस्वीकृतिपत्र (नो अब्जेक्सन लेटर) को गत आर्थिक वर्ष र यस आर्थिक वर्षको पहिलो त्रैमासिक विवरण अनुसार जापान आकर्षणमा परेको छ । जापानी भाषा सिकेर थप पढ्न र काम गर्न जापानमा सहज हुने भएकाले पनि विद्यार्थीको चाप देखिएको हो । केही वर्ष अघिसम्म नेपाली विद्यार्थीको पहिलो रोजाइ अस्ट्रेलिया हुने गरेको थियो ।
यस आर्थिक वर्षको गत १ साउनदेखि असोज मसान्तसम्म कुल २८ हजार ५८५ विद्यार्थीले मन्त्रालयको भक्तपुर (सानोठिमी) स्थित शाखाबाट ‘नो अब्जेक्सन लेटर’ (एनओसी) लिएको मन्त्रालयले जनाएको छ । त्यसमध्ये जापानका लागि ९ हजार ४५३, अस्ट्रेलियाका लागि ७ हजार ७३० र संयुक्त अधिराज्य बेलायतका लागि ४ हजार ६११ विद्यार्थीले स्वीकृति लिएका छन् । मन्त्रालयको ‘नो अब्जेक्सन लेटर’ शाखाका प्रमुख वीरेन्द्रजंग थापाले गत फेब्रुअरीमा भएको जापानी भाषा परीक्षाका कारण पछिल्ला दिनमा जापान जाने विद्यार्थी बढेको बताए । उनले मंगलवार केही समय ‘एनआईडीसी’ को ‘सिस्टम डाउन’ भएकाले विद्यार्थीलाई छिटो सेवा दिन नसकिएको बताउँदै ‘अनलाइन’ प्रणालीका आधारमा एनओसी सेवा पाउन आवेदन दिन र स्वीकृतिको प्रणाली विकास गरिएकाले कागजात पूरा गरेका आवेदकहरूको पालोअनुसार स्वीकृति हुने बताउनुभयो ।
जापान जाने तयारीमा एनओसीका लागि आवेदन दिएका जुम्लाका नवराज देवकोटाले मंगलवार उक्त शाखामा विद्यार्थीको निकै भीड भएकाले आफ्नो स्वीकृतिको अवस्थाबारे बुझ्न कठिन भएको गुनासो गरे । देवकोटा जापानको फुकुओकास्थित क्युरिन इन्टरनेशनल जापानी भाषा कलेजमा पढ्न जाने तयारीमा छन् ।
गत आर्थिक वर्ष २०८१/०८२ मा ८४ देशमा अध्ययनका लागि १ लाख २३ हजार ५८९ ले स्वीकृति लिएका थिए । स्वीकृति लिएकामा जापानका लागि अत्यधिक ३९ हजार ८४७ छन् । यस्तै अग्रपंक्तिका ५ गन्तव्यमा परेको मध्ये बेलायतका लागि २७ हजार ४७५, अस्ट्रेलियाका लागि १६ हजार २७९, दक्षिण कोरियाका लागि ९ हजार ७५७, संयुक्त राज्य अमेरिकाका लागि ८ हजार ८७० ले स्वीकृति लिएका थिए ।
विषयका आधारमा सबैभन्दा बढी विद्यार्थी व्यवस्थापन अध्ययन गर्न विदेशिएका छन् । सो विषयका लागि १ लाख १६ हजार ७८० विद्यार्थीले गत आर्थिक वर्षमा पूर्वस्वीकृति लिएका छन् । यस्तै सूचना प्रविधि विषयका लागि ३० हजार ७४४, विज्ञान विषयका लागि २० हजार ६७४ र हस्पिटालिटीका लागि १४ हजार २३ विद्यार्थीले पूर्वस्वीकृति लिए ।
मन्त्रालयले विदेशका विश्वविद्यालय र कलेजको आधिकारिकता र शिक्षणका लागि भौतिक पूर्वाधारको अनुकूलताका आधारमा कार्यक्रमगत सूची पनि हालै अद्यावधिक गरेको छ । ‘वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका, २०७९’ (संशोधनसहित) को दफा १८ को उपदफा ४ मा विश्वविद्यालय वा शिक्षण संस्थाको बेबसाइटमा उपलब्ध रहेको तिनको वरियताक्रम प्रदान गर्ने ‘टाइम्स हाइयर एजुकेशन’ वा ‘क्युएस वल्र्ड युनिभर्सिटी र्याङकिङ’को वरियता सूचीमा रहेकाहरूको नामावली यही फागुन ११ गते मन्त्रालयले अद्यावधिक गरेको हो ।
विदेश पढ्न जाने विद्यार्थीले समस्या भोग्नु नपरोस् भन्ने अभिप्रायाले मन्त्रालयले विश्वविद्यालय र कलेजको आधिकारिकता पहिचानमा सहजीकरण गरेको हो । मन्त्रालयले आफूलाई ती मुलुकका आधिकारिक च्यानलबाट प्राप्त जानकारीका आधारमा चीन, अस्ट्रेलिया, नर्वे, युएई, संयुक्त अधिराज्य बेलायत, आयरल्यान्ड, स्पेन, माल्टा, संयुक्त राज्य अमेरिका, जर्मनी, इटली, लिथुआनिया, गणतन्त्र कोरिया, कतार र माल्दोभाका विश्वविद्यालय र कलेजसम्बन्धी आधकारिक सूचना प्रदान हुने पोर्टलहरू प्रकाशन गरेको छ । रासस









