काठमाडौं– चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदमा चुनाव लडेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचन आयोगमा चुनावमा भएको खर्चको विवरण पेस गरेका छन् ।

उनले आयोगमा बुझाएको विवरणअनुसार यो चुनावमा ९ लाख ८९ हजार ९८७ रुपैयाँ खर्च गरेका छन् । आयोगमा पेस गरिएको पत्रमा मनोनयन दर्ता खर्च १० हजार, नमूना मतपत्र सामग्री छपाइमा ६८ हजार १६१, यातायात तथा इन्धन खर्च २ लाख ९५ हजार, मतदाता प्रशिक्षण खाजा खर्च १४ हजार २००, वडास्तरीय प्रचारप्रसार ४६ हजार, प्रचारप्रसारका लागि झण्डा र ब्याच खरिदमा १ लाख १२ हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

यसैगरी प्रचारप्रसारका लागि ब्यानर र ‘स्टिकर’ किन्दा ५५ हजार, खाद्यान्न तथा रासन खरिदमा १ लाख ९६ हजार, हवाई खर्च १३ हजार ६२६ र गोष्ठी भेलामा १ लाख ८० हजार रुपैयाँ खर्च भएको जनाइएको छ ।

सो पार्टीको भरतपुर महानगर सभापति सीता ज्ञवालीले खर्च विवरण मंगलबार निर्वाचन आयोगमा पेस गरेकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय