काठमाडौं- गत भदौ २३ र २४ मा जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण सार्वजनिक गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आन्दोलनका क्रममा उपचार भएका अस्पतालबाट संकलन गरिएको नामअनुसार विवरण सार्वजनिक गरिएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।
आन्दोलनमा देशभरिका ९९ अस्पतालमा २ हजार ६३८ जना घाइतेको उपचार गरिएको विवरण प्राप्त भएको उनले बताए । ‘आन्दोलनका क्रममा उपचार भएका सबै अस्पतालबाट घाइतेको विवरण संकलन गरिहेका थियौं । केही अस्पतालबाट विवरण आउन ढिलो भएकाले सबै घाइतेको विवरण सार्वजनिक गर्न ढिलाइ भयो । हाल सबै घाइतेको विवरण गृह मन्त्रालयलाई पठाएको छ,’ प्रवक्ता डा बुढाथोकीले भने ।
विवरणअनुसार गत असोज ३१ गते २ हजार ५२२, गत माघ ४ गते ७७ र यही फागुन २९ गते थप ३९ जना घाइतेको विवरण गृह मन्त्रालयलाई पठाइएको छ।
प्रवक्ता डा बुढाथोकीका अनुसार सबैभन्दा धेरै ४५८ जना घाइतेको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा उपचार गरिएको छ । यस्तै, नेपाल पुलिस अस्पतालमा २०३, राष्ट्रिय ट्रमा सेन्टरमा १९० र त्रिवि शिक्षण अस्पतालमा १०८ जनाको उपचार भएको थियो ।









