काठमाडौं- प्रधानमन्त्री बन्ने बाटोमा रहेका बालेन्द्र शाह (बालेन) चैत १२ गते बिहीवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेता चयन हुने भएका छन् । कुनै पनि पार्टीले सरकार गठनका लागि स्पष्ट बहुमत प्राप्त गरेको अवस्थामा राष्ट्रपतिले त्यस्तो पार्टीको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
संसदीय दलको नेता चयन सम्बन्धी विषयमा निर्णय गर्न बिहीबार रास्वपा केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।
बिहीबारै नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ समारोह हुँदैछ । सोही दिनको दिउँसो ४ः०० बजे रास्वपाले आफ्नो संसदीय दलको नेता चयनसम्बन्धी छलफलका लागि बैठक बोलाएको हो ।
पार्टी सभापति रवि लामिछानेका अध्यक्षतामा बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए। सबै केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशन गरिएको सो बैठकमा विविध विषयमा छलफल हुने बताइएको छ ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले प्रतक्ष्यतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिटमा जीत हासिल गरेको छ ।









