काठमाडौं– केराउ, सुपारी, छोकडा र नधुल्याइएको मरिच आयातमा गत वर्षदेखि लगाइएको बन्देज हटेसँगै उक्त वस्तु आयात गर्न चाहनेको संख्या उच्च देखिएको छ ।

गत चैत ९ गतेको मन्त्रिपरिषद बैठकले पोहोर चैत १६ गते केराउ आयातमा लगाएको प्रतिबन्ध हटाउँदै आयातको कोटा तोकेको थियो । त्यसयता तोकिएको कोटाभन्दा १५ गुणा बढी आयात अनुमतिको लागि आवेदन परेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

विभागको बुधबार साँझको तथ्यांकअनुसार केराउमा १५, सुपारीमा नौ, छोकडामा आठ र नधुल्याइएको मरिचमा नौ गुणासम्म आवेदन परेको छ ।

सरकारले वार्षिक ८० हजार मेट्रिक टन केराउ, २५ हजार टन सुपारी, पाँच हजार टन छोकडा र १५ हजार टन नधुल्याइएको मरिच आयात गर्न सकिने गरी प्रतिबन्ध हटाएको हो ।

लामो समयपछि चार वस्तुको आयातमा लगाइएको प्रतिबन्ध हटाएपछि उक्त वस्तुको आयातमा व्यवसायीको माग धेरै आएको विभागका प्रवक्ता शिवराज सेढाईंले जानकारी दिए ।

उनका अनुसार बुधबार साँझसम्म केराउ आयातका लागि २३३ आवेदन परेको छ । ती आवेदकले १२ लाख २५ हजार २९० टन आयात गर्ने अनुमति मागेका छन् ।

सुपारी आयातका लागि ७५ वटा आवेदन परेको र दुुई लाख २७ हजार २७० टनको आयात गर्न चाहेको विभागले जनाएको छ ।

यसैगरी, छोकडा आयातका लागि १०१ निवेदन परेको छ । त्यसबाट ४१ हजार ९९५ मेट्रिक टन र नधुल्याइएको मरिच १६९ निवेदनबाट एक लाख ४० हजार ८२ मेट्रिक टन आयात गर्न अनुमति मागिएको छ ।

यी सबै वस्तु भारततिर तस्करीको उद्देश्यले नेपालमा आयात हुने गरेको छ । सोही कारण सरकारले गत वर्ष यी वस्तुको आयातमा पूर्ण प्रतिबन्ध लगाएको थियो । तस्करी हुने देखेरै सरकारले स्वदेशमा खपतका लागि आवश्यक परिमाण मात्र आयात गराउन कोटा तोकेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय