काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघ र कर्णाली प्रदेश सरकार मिलेर कर्णालीमा लगानी सम्मेलन गर्ने भएका छन् ।

महासंघका अध्यक्ष शेखर गोल्छासहित महासंघका पदाधिकारी र कर्णाली योजना आयोगका उपाध्यक्ष डा. सर्वराज खड्का, सदस्य डा. दिपेन्द्र रोकाय र सदस्य योगेन्द्रबहादुर शाही समेतको प्रतिनिधिमण्डलबीच शुक्रबार महासंघ सचिवालयमा भएको भेटवार्तामा संयुक्त रुपमा सम्मेलन आयोजना गर्ने सहमति भएको हो ।

सो अवसरमा महासंघका अध्यक्ष गोल्छाले कर्णालीमा लगानीको पर्याप्त सम्भावना रहेको भन्दै सरकारले त्यसको लागि सहजीकरण गरिदिनुपर्ने बताए ।

लगानीकर्ताले कृषि, पर्यटन, जडीबुटी, जलविद्युत् लगायत क्षेत्रमा लगानी गर्ने अध्यक्ष गोल्छाको भनाइ छ । उनले लगानीकर्तालाई महासंघले सहजीकरण गर्ने पनि जानकारी गराए । छलफलमा महासंघका उपाध्यक्षद्वय दिनेश श्रेष्ठ र अन्जन श्रेष्ठको पनि सहभागिता थियो ।

कर्णाली योजना आयोगका उपाध्यक्ष डा. खड्काले कर्णालीको विकासका लागि लगानी सम्मेलनको खाँचो भएकाले त्यसको अवधारणा अघि सारेको बताए । उनले योजना आयोग र महासंघको संयुक्त पहल एवं लगानीमा सम्मेलन गर्दा प्रभावकारी हुने विश्वास व्यक्त गरे । कर्णाली प्रदेशमा परियोजना बैंक बनाएर लगानीको वातावरण सिर्जना गर्ने डा. खड्काले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय