काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले भारतले मात्र नेपालको भूमि मिचेको नभई नेपालले पनि भारतको भूमि मिचेको आफूले थाहा पाएको बताएका छन् । आइतबार संघीय संसद् प्रतिनिधिसभामा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले त्यस्तो बताएका हुन् ।

भारतसँगका सीमासम्बन्धी समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको पनि उनले बताए । प्रधानमन्त्री शाहलाई नेपाल कम्युनिस्ट पार्टी (एमाले)की सांसद पद्मा अर्यालले भारत र चीनले नेपाली भूमि लिपुलेक भएर व्यापार गर्न सडक निर्माणलगायत संरचना बनाएको विषयमा सोधेकी थिइन् । सो क्रममा उनले भारतले पनि नेपाली भूभाग मिचेको र नेपालले पनि भारतको मिचेको बताउँदै नेपाल र भारतबीचको सीमा विवादमा इतिहासविद्सहितको संलग्नतामा समाधानको प्रयत्न भएको बताए ।

‘तपाईंहरुलाई एउटा कुरा अचम्म लाग्न सक्छ । मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ । भारतले नेपालको मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रैछ । त्यसलाई चै दुइटै देशले साथीको रुपमा बसेर समाधान गर्ने सोच राखेका छौं,’ प्रधानमन्त्री शाहले भने ।

यस विषयमा बेलायत सरकासँग पनि छलफल गर्नुपर्ने प्रधानमन्त्री शाहले बताए ।

‘नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा कालापानी क्षेत्रको भूभागका सम्बन्धमा नेपाल सरकारले औपचारिक रुपमा कूटनीतिक ‘नोट’ भारत सरकारलाई पठाइसकेको छ ।

त्यसको जवाफ पनि आएको छ । त्यो जवाफमा दुवै सरकारले आफ्ना इतिहासविद्, ‘सर्भेयर’ र आफ्नो भूमिसम्बन्धी जानकारी भएका व्यक्ति राखेर संवादमार्फत यस कुरालाई समाधान गर्ने कुरा भएको छ,’ प्रधानमन्त्री शाहले भने, ‘यस सम्बन्धमा भारत र चीनलाई मात्रै नभएर इङ्ल्याण्ड सरकारसँग पनि कुरा गरेका छौं । ब्रिटिस इन्डियाले भारत छाडेको समयका समस्या अहिलेसम्म हाम्रोमा भइरहेको हुँदा यसमा इङ्ल्याण्डले पनि सरोकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो । यी सबै कुरा टेबल टक डिप्लोमेटिक हिसाबले भएर समाधान हुने जानकारी गराउँछु ।’

सांसदले राखेको धेरैजसो कुरालाई सल्लाह र सुझावका रुपमा लिने बताउँदै प्रधानमन्त्री शाहले नेपाली कांग्रेसका सांसद अर्जननरसिंह केसीले राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदन मात्र नभएर विभिन्न कालखण्डमा भएका आन्दोलनका प्रतिवेदन कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

‘विभिन्न कालखण्डमा भएका आन्दोलनको सम्बन्धमा धेरै प्रतिवेदन छन् । एउटा मात्रै प्रतिवेदन छैन । विभिन्न कालखण्डमा विभिन्न आयोग गठन भएका छन् । आजसम्म नेपाल सरकारलाई बुझाइएको जति पनि आयोगका प्रतिवेदनहरु छन् ती सबै प्रतिवेदनलाई एकमुष्ट नेपाल सरकारले अध्ययन गर्छ, त्यही अनुसार कामकारबाही गर्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय