काठमाडौं– सरकारले अब कोरोना संक्रमण रोक्ने बहानामा लकडाउन नगर्ने प्रस्ट पारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले काठमाडौंमा आयोतिज ‘नेपाल हेल्थ कनक्लेभ २०२१’ लाई मंगलबार सम्बोधन गर्न क्रममा नेपाल अब कहिल्यै पनि लकडाउनमा नजाने बताए ।

उनले लकडाउनभन्दा अगाडि गर्नुपर्ने सबै किसिमका प्रभावकारी कदमहरू चाल्न सरकार तयार रहेको बताए ।
लकडाउनले कोरोना संक्रमणको गति कम गराए पनि सामाजिक जनजीवन र अर्थतन्त्रमा दीर्घकालीन असर पार्ने भएकाले सरकार लकडाउनमा जाने मनस्थितिमा नरहेको उनको भनाइ छ ।

‘हामी चाहन्नौं कि नेपाल फेरि पनि लकडाउनमा जाओस् । लकडाउनभन्दा अगाडि जति महत्त्वपूर्ण र प्रभावकारी कदमहरू छन्, सरकार ती सबै कदमहरू चाल्न तयार छ र त्यसको तयारी गरिरहेको छ । किनभने लकडाउनले कम हुने त एकातिर छँदैछ तर जनजीविकालाई यसले पार्ने प्रभाव र समाजलाई पार्ने प्रभाव अर्थतन्त्रलाई पार्ने प्रभाव, सामाजिक जीवनलाई पार्ने प्रभावपछि र दीर्घकालीन रूपले हुने रहेछ तसर्थ संसारले नै जसरी यो लडाइँ लडिरहेको छ हामी पनि एउटा यो लडाइँमा योद्दा भएको हुनाले नेपाल पनि सबैको काँधमा काँध मिलाएर लडाइँ गर्न तयार छ,’ उनले भने ।

छिमेकी भारतमा कोभिडको नयाँ लहर आएकाले नेपालले सीमा नाकामा एन्टिजेन परीक्षण सुरू गरेको पनि मन्त्री त्रिपाठीले बताए ।

‘छिमेकमा सबैतिर अलि अलि बढ्दो स्थिति भएको हुनाले हामी त्यसको लागि सतर्क छौं । तर एउटा कुरा म यहाँहरूलाई विनम्रतापूर्वक निवेदन गर्न चाहन्छु, आतंकित हुनुपर्ने अवस्था छैन । आतंकित हुनु भनेको यो संक्रमणलाई झन् थप्नु हो । सावधान हुनुपर्छ, सतर्क हुनुपर्छ, सतर्कताका सबै उपाय अवलम्बन गर्नुपर्छ तर आतंकित गरेर जनतामा भय र त्रास गर्ने काम गर्नु हुँदैन,’ उनले भने ।

उनका अनुसार विश्वभर कोरोनाविरोधी ८१ खोप विकास भइरहेको र तीमध्ये १३ वटा प्रचलनमा आइसकेको छ । नेपालले हालसम्म तीन किसिमका खोपलाई मान्यता दिई प्रचलनमा ल्याएको मन्त्री त्रिपाठीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय