काठमाडौं– यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीसाधनको निश्चित सीमा तोकेर दर्ता खुला गरेको छ ।
विभागले भदौ ३० गते सातवटै प्रदेशका पूर्वाधारसँग सम्बन्धित मन्त्रालयलाई पत्राचार गरी काठमाडौं उपत्यकाभित्रको रुट तथा सवारीसाधन व्यवस्थापनको लागि हाललाई असोज १ गतेदेखि लागू हुने गरी दर्ता खुला गरेको हो ।
काठमाडौं उपत्यकाबाहिर मात्र दर्ता हुने तथा दर्तामा विद्युतीय सार्वजनिक यात्रुवाहक सवारीसाधनलाई प्राथमिकता दिइने विभागको भनाइ छ ।
विभागका निर्देशक मणिराम भुसालले काठमाडौं उपत्यकाभित्र भने स्कुलबस एवं सट्टाभर्नाको हकमा मात्र सार्वजनिक सवारीसाधनको दर्ता खुला गरिएको बताए ।
यसअघि विभागले नेपालमा पैठारी हुने सार्वजनिक सवारीसाधनको दर्ता अर्को सूचना जारी नभएसम्मका लागि रोक्का गरिएकामा गत साउन १८ गते एक सूचना जारी गरी मालवाहक सवारीसाधनको दर्ता खुला गरेको थियो ।









