चितवन– कृष्णभिरमा नयाँ ‘ट्र्याक’ खोलेर बिहीबार बिहानदेखि दुईतर्फी सञ्चालन गरिने भएको छ । भदौ १४ गतेको त्रिशूली बाढीले सडक बगाएपछि साविकको सडकभन्दा माथिल्लो भागमा नयाँ ट्र्याक खोलिएको हो ।

उक्त राजमार्ग यही भदौ १४ गते यातायात सेवा सञ्चालन गर्न नमिल्ने गरी भासिएको थियो । सडक भासिएपछि पूर्णरुपमा अवरुद्ध बनेको सो राजमार्ग यही भदौ १८ गतेदेखि नजिकै रहेको ढिस्कोलाई काटेर नयाँ ट्र्याक खोलिएको हो ।

नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड)का इन्जिनियर धीरज ढकालका अनुसार आज साँझसम्ममा सबै काम सकिने छ । आजै ग्राबेल र नालीको काम भइरहेको छ ।

‘साँझसम्ममा हामी सबै काम सक्छौं,’ उनले भने, ‘स्थानीय बेनिघाट रोराङ गाउँपालिकाले सडकमा ‘फ्लडलाइट’ जडान गर्दैछ । यससँगै रातिमा सवारी सञ्चालन गर्न सहज हुनेछ ।’

पूर्वाधार विकास मन्त्रालयले जारी गरेको सूचनामा बिहीबार बिहान ६ः०० बजेदेखि पूर्णरुपमा यातायात सञ्चालन गरिने जनाइएको छ । नदी कटानबाट करिब १०० मिटर सडक क्षतिग्रस्त भई यातायात अवरुद्ध भएकोमा मन्त्रालयले आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधनको अधिकतम परिचालन गरी नयाँ ट्र्याक निर्माण तथा सडक पुनःस्थापनाको कामलाई अन्तिम चरणमा पुर्याएको सूचनामा जनाइएको छ ।

धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले साँझसम्ममा काम सम्पन्न भएमा रोकिएका गाडी आजै पार गराउने बताए ।

‘साँझसम्मको प्रगतिको समीक्षा गरी रोकिएका सवारी पार गराउँछौं,’ उनले भने . बिहीबार बिहानदेखि दुईतर्फी नै सवारी सञ्चालन हुने उनले बताए ।

कृष्णभिरमा सवारी सञ्चालन भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा आंशिक रोकिएका सवारीसाधन पनि गन्तव्यतर्फ छुट्ने छन् । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कृष्णभिरमा सवारी सञ्चालन हुने भएमा तत्कालका लागि तुइन खोलामा आंशिक सडक रोकेर गरिएको पहिरो रोकथामको काम रोकिने बताए । लामो समयदेखि कृष्णभिरको सडक अवरुद्ध हुँदा ठूला सवारीसाधन राजधानी जान आउन पाएका छैनन् । त्यसका कारण राजधानीमा एलपी ग्यासको अभाव देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय