पोखरा– माओवादी केन्द्र गण्डकी प्रदेश सरकारबाट बाहिरिएको छ । गण्डकी प्रदेश सरकारमा रहेका माओवादीका दुई मन्त्री हरिबहादुर चुमान र लेखबहादुर थापाले बुधबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजीनामा बुझाएका हुन् ।

बुधबार विहान सम्पन्न माओवादी संसदीय दलका बैठकले दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको थियो । माओवादी केन्द्रले तत्काल गण्डकी प्रदेश सरकारबाट बाहिरिएर नयाँ समीकरणका लागि प्रयास गर्ने निर्णय गरेको माओवादी केन्द्रका गण्डकी प्रदेश सांसद दीपक कोइरालाले जानकारी दिएका थिए ।

गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकारमा माओवादी केन्द्रबाट चुमान आन्तरिक मामिला तथा कानुनमन्त्री र थापा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री थिए ।

राजीनामा बुझ्ने क्रममा मुख्यमन्त्री गुरुङले एमालेकै मन्त्रीसँग बेलाबेलामा खटपट भए पनि माओवादीबाट सहभागी मन्त्रीसँग कहिल्यै नराम्रो नभएको बताए । माओवादीले आफ्ना मन्त्रीलाई राजीनामा दिन लगाए पनि प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता भने लिएको छैन ।

सर्वोच्चले एमाले र माओवादीको एकता बदर गरिदिएपछि माओवादीले एमालेलाई सरकार बनाउन दिएको समर्थन फिर्ता लिएको हो ।

गण्डकी प्रदेश सभामा ६० सदस्य छन् । प्रदेश सभामा एमालेका २७, माओवादीका सभामुखसहित १३, नेपाली कांग्रेसका १५, जनमोर्चाका ३ र जनता समाजवादीका २ सदस्य छन् । नयाँ सरकार बनाउन ३१ सांसदको समर्थन चाहिन्छ ।

प्रदेश सभामा तीन सांसद भएको राष्ट्रिय जनमोर्चाले साथ दिए एमालेको सरकार कायमै रहने अवस्था छ । राजीनामा बुझाउने क्रममा मन्त्री चुमानले राजीनामा गर्ने पार्टीको निर्देशनप्रति असन्तुष्टि जनाउँदै सरकारमा रहने वा नरहने भन्ने निर्णय प्रदेश संसदीय दललाई नै हुनुपर्नेमा माथिबाट लादिएको गुनासो गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय