
काठमाडौं– नेपाल चेम्बर अफ कमर्सको ७० औँ साधारण सभाको प्रधानमन्त्री केपी शर्मा ओलीले समुद्घाटन गर्नुभएको छ । होटल सोल्टीमा बिहीबार आयोजित समारोहमा प्रधानमन्त्री ओलीले चेम्बरको ७०औं साधारणसभा समुद्घाटन गरेका हुन् ।
उद्घाटन सत्रमाा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, निजी क्षेत्र र नागरिक मिलेर सरकारको समृद्ध नेपाल सुखी नेपालीको अभियान सफल पार्नुपर्ने बताए । आयात प्रतिस्थापन तथा निर्यात वृद्धि गर्दै रोजगारी सिर्जनामार्फत आर्थिक समृद्धि हासिल गर्नुपर्ने उनको भनाइ थियो ।
उक्त अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले नेपाल चेम्बरसहितका निजी क्षेत्रका संस्थाहरुका माग तथा चासोलाई नीति निर्माणमा समेटिने प्रतिबद्धता व्यक्त गरे ।
सिक्का अनावरण, स्मारिका विमोचन
प्रधानमन्त्रीले उक्त अवसरमा चेम्बरको ७०औं वार्षिकोत्सवको अवसरमा तयार गरिएको चाँदीको सिक्का अनावरण गरे । चेम्बर कार्यसमिति सदस्य एवं सिक्का निष्कासन समितिका संयोजक पर्शुराम दाहालले प्रधानमन्त्रीलाई उक्त सिक्का प्रस्तुत गरेका थिए ।
यस्तै, प्रधानमन्त्रीले चेम्बरको ७०औं वार्षिकोत्सवको अवसरमा प्रकाशित चेम्बर स्मारिका २०७७ विमोचन गरे । स्मारिकामा नेपालको उद्योग वाणिज्य क्षेत्रसँग सम्बन्धित विभिन्न लेखरचना संग्रहित छन् । चेम्बर कार्यसमिति सदस्य एवं सूचना तथा सञ्चार समितिका सभापति सन्तोष पाण्डेले स्मारिका प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका थिए ।
व्यवसायीहरु सम्मानित
चेम्बरले विभिन्न विधामा उल्लेखनीय कार्य गरेबापत उद्यमी व्यवसायीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट सम्मानपत्र तथा कदरपत्र दिएको छ । चेम्बरमा निरन्तर २५ वर्षदेखि आबद्ध कार्यसमिति सदस्य राष्ट्रभूषण चाकुबाजीलाई कदरपत्र प्रदान गरियो । यस्तै कोभिड १९ महामारीमा नेपाल चेम्बर अन्तर्गत गठित कोभिड राहत समितिका संयोजक चेम्बर उपाध्यक्ष दीपककुमार मलहोत्रा सम्मानित भए ।
नेपाल भारत आर्थिक सम्बन्धमा सहजीकरण तथा सुधृढ गर्न योगदान गरेबापत् नेपाल भारत उद्योग वाणिज्य संघलाई कदरपत्र प्रदान गरिएको छ । नेपालको वैदेशिक व्यापारमा सहजीकरण गरेबापत नेपाल फ्रेट फर्वार्डर्स एसोसिएसन सम्माति भयो ।
प्रसंशनीय कार्य सम्पादन गरेका पोखरा चेम्बर अफ कमर्स कास्की, चितवन चेम्बर अफ कमर्स, गोदावरी चेम्बर अफ कमर्सलाई पनि कदरपत्र प्रदान गरिएको छ । यस्तै, जग्गा व्यवस्था गरी भवन निर्माण गरेका कपिलबस्तु चेम्बर अफ कमर्स, डोटी चेम्बर अफ कमर्स, हरिवन नगर चेम्बर अफ कमर्स र उद्योग व्यापार संगठन रुपन्देहीले कदरपत्र प्राप्त गरे ।
चेम्बरका ६ जना पूर्वअध्यक्षको सम्मानमा स्थापित मेमोरियल अवार्ड उद्योग वाणिज्य क्षेत्रमा योगदान प्रदान गरेका व्यक्तिलाई वितरण गरिएको छ । बनवारीलाल मित्तल मेमोरियल अवार्ड पर्यटनतर्फ सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका अध्यक्ष चिन्तामणि न्यौपानेले ग्रहण गरे ।
जनकदास श्रेष्ठ मेमोरियल अवार्ड महिला उद्यमीतर्फ इन्दिरा सापकोटाले प्राप्त गरिन् । यस्तै राजबहादुर चिपालु मेमोरियल अवार्ड कृषितर्फ गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानले प्राप्त गरे । जुद्धबहादुर श्रेष्ठ मेमोरियल अवार्ड भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले प्राप्त गरे । इन्द्रभक्त मेमोरियल अवार्ड उद्योगतर्फ विशाल ग्रुपका अध्यक्ष जगदीश अग्रवालले प्राप्त गरेका छन् । ईश्वरलाल मेमोरियल अवार्ड पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठले पाएका छन् ।