वैशाख– रुरु जलविद्युत् परियोजना लिमिटेडको साधारण सेयर बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा शुक्रबार बिहान कम्प्युटर प्रणालीमा आधारित गोलाप्रथाबाट सेयर बाँडफाँट गर्दा ३७ हजार ९१६ जनाले १० कित्ताका दरले रुरुको सेयर पाएका छन् ।
उक्त सेयरका लागि १६ लाख ८३ हजार १२१ जनाले आवेदन दिएका थिए । उक्त आवेदनमार्फत २ करोड ३५ लाख ४६ हजार ४४० कित्ता सेयर माग भएको थियो । कुल आवेदनमध्ये ८ हजार ५३५ रद्द भई १५ लाख ९० हजार ८९६ आवेदन कायम हुन आएको थियो ।
कम्पनीले चैत २० गतेदेखि प्रतिसेयर सय रुपैयाँ अंकित दरमा २० रुपैयाँ प्रिमियम थप गरी १२० रुपैयाँमा ४ लाख ७ हजार ७०६ कित्ता सेयर बिक्रीमा ल्याएको थियो । यसमा पनि २ प्रतिशत (८ हजार १५४ कित्ता) सेयर कर्मचारीलाई र ५ प्रतिशत (२० हजार ३८५ कित्ता) सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सेयर सर्वसाधारण आवेदकलाई बाँडफाँट गरिएको छ ।
यो कम्पनीको चुक्ता पुँजी ३२ करोड ६१ लाख ६४ हजार ४०० रुपैयाँ छ । स्थानीय बासिन्दा तथा सर्वसाधारणमा सेयर बिक्री गरेपछि कम्पनीको चुक्ता पुँजी ४० करोड ७७ लाख ५ हजार ५०० रुपैयाँ पुग्नेछ ।