काठमाडौं– नेपालमा पूर्वाधार, उत्पादनशील लगायत क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँ पुँजी भएको एनआरएन नेपाल डेभलपमेन्ट फन्डको स्थापना भएको छ ।

अर्थ मन्त्रालय र गैरआवासीय नेपाली संघद्वारा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार एनआरएन नेपाल डेभलपमेन्ट फन्डमा गैरआवासीय नेपालीको ९ अर्ब ५० करोड रुपैयाँ र नेपाल सरकारको ५० करोड रुपैयाँ सेयर लगानी हुनेछ ।

२०७५ सालमा सम्पन्न लगानी सम्मेलनमा नेपाल सरकार र गैरआवासीय नेपाली संघबीच भएको समझदारी बमोजिम गैरआवासीय नेपाली संघले स्थापना गर्ने उक्त कम्पनीमा नेपाल सरकारको पाँच प्रतिशत लगानी हुने भएको हो ।

पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल सबै हिसाबले लगानीमैत्री भएको भन्दै लगानीदूतको भूमिका निर्वाह गर्न गैरआवासीय नेपालीलाई आग्रह गरे ।

‘सरकार कानुनी र नीतिगत रुपमा विदेश पुँजी भित्र्याउन प्रतिबद्ध छ । ‘छरिएर रहेको पुँजीमात्र होइन, विदेशी पुँजी पनि ल्याउन चाहन्छ,’ अर्थमन्त्री पौडेलले भने, ‘लगानी वैध स्रोतको र बैंकिङ प्रणालीबाट मात्र राष्ट्रको प्राथमिकतामा लगानी हुन भने जरुरी छ ।’

अर्थमन्त्री पौडेलले एनआरएन नेपाल डेभलमेन्ट फन्ड स्थापनमा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिँदै चुनौती पनि सँगै आएको धारणा व्यक्त गरे ।

नेपाल राष्ट्र बैंकमा गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक निजी साझेदारीका रुपमा आएको कम्पनीले थप आशा जगाएको भन्दै नेपालमा धेरै क्षेत्रमा लगानीका लागि अवसर रहेको बताए ।

अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले होल्डिङ कम्पनीका रुपमा अघि बढाउन सके लक्ष्य हासिल गर्न सकिने विश्वास व्यक्त गरे ।

राजस्व सचिव रामशरण पुडासैनीले गैरआवासीय नेपालीको तर्फबाट आउने लगानीका लागि सरकारले आवश्यक सहयोग गर्ने बताए ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले केही वर्षमा फन्डमा लगानीयोग्य रकम ५० अर्ब रुपैयाँभन्दा बढी पुर्याउने बताए ।

गैरआवासीय नेपाल संघका संस्थापक अध्यक्ष तथा फन्डका अध्यक्ष उपेन्द्र महतोले पुँजी, कर्पोरेट कल्चर, सुशासन, प्रविधि लगायत ल्याउने भन्दै सरकारसहित सबैको साथ सहयोगको अपेक्षा गरे ।

नेपाल सरकारको ५० करोड रुपैयाँ सेयर लगानी सहित गैरआवासीय नेपाली प्रवर्द्धक रहेको कम्पनीमा तीन अर्ब रुपैयाँको वैदेशिक मुद्रामा लगानीको प्रतिबद्धता प्राप्त भइसकेको छ । नेपालको उद्यम, व्यवसाय र यातायात, पूर्वाधार लगायतका क्षेत्रमा लगानी गर्ने कम्पनीको मुख्य उद्देश्य रहेको छ ।

गैरआवासीय नेपालीलाई लक्षित गरी छिट्टै प्राथमिक सेयर निष्कासन गरिने योजना रहेको गैरआवासीय नेपाली संघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय