
बागलुङ– बागलुङ–पर्वत जोड्ने बांगेचौर–अदुवाबारी झोलुंगे (५६७ मिटर लामो) पुल तर्न २० रुपैयाँ कर तिर्नुपर्ने भएको छ । सो पुल विश्वकै लामो दाबी गरिँदै आएको छ । बागलुङ नगरपालिकाले पूर्वाधार कर भनी मंगलबारदेखि रकम लिन थालेको छ । प्रतिव्यक्ति २० रुपैयाँ कर लिने कदमको सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।
अबदेखि पुलमार्फत ओहरदोहर गर्नेले प्रतिव्यक्ति २० रुपैयाँ कर बुझाउनुपर्ने हुन्छ । नगरपालिकाका प्रमुख जनकराज पौडेलले पुलकै पूर्वाधारमा खर्च गर्न कर संकलन गर्ने निर्णयमा पुगेको र यो निर्णयमाथि पुनःविचार गरिने बताए । बागलुङ–पर्वत जिल्लाबासीलाई भने कर नलाग्ने नगरपालिकाले जनाएको छ । नगर प्रमुख पौडेलका अनुसार ज्येष्ठ नागरिक, अपांगता भएका र विद्यार्थीलाई भने १० रुपैयाँ कर लाग्नेछ ।
यस्तै प्रशासनले बलेवामा कोरोना जोखिम बढेको जनाउँदै वडा नं १२, १३ र १४ मा वैशाख १७ गतेसम्म निषेधाज्ञा जारी गर्नेसमेत निर्णय गरेको छ । बागलुङ –१४ को जनताधन माध्यमिक विद्यालयका १९ विद्यार्थी र दुई शिक्षकसहित सोही वडाका अन्य १८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सतर्कता अपनाउन थालिएको हो ।