काठमाडौं– स्थानीय प्रशासनले काठमाडौं उपत्यकाका तीनै जिल्लामा एक साताको लागि निषेधाज्ञा जारी गरे पनि सो अवधिमा पनि दोस्रो बजारमा हुने सेयर किनबेच नरोकिने भएको छ ।
अघिल्लो वर्ष लकडाउनका बेला झण्डै दुई महिना दोस्रो बजारमार्फत हुने सेयर किनबेच पनि रोकिएको थियो । अहिले पनि त्यस्तै हुन्छ कि भन्ने चिन्तामा लगानीकर्ता रहेका बेला सेयर बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डले सेयर किनबेच नरोकिने प्रस्ट पारेको छ । बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले सेयरको किनबेच अनलाइनबाट हुने हुँदा बन्द नहुने बताए ।
अचेल अनलाइनबाटै सेयर किनबेच गर्न सकिने हुँदा बन्द र निषेधाज्ञाले यसलाई केही फरक नपर्ने उनको भनाइ छ । अचेल घर, कार्यालय अथवा विदेशमै बसेर पनि अनलाइनमार्फत सेयर किनबेच गर्न सकिने र भुक्तानी पनि अनलाइनबाट हुने उनले प्रस्ट पारे ।
उपत्यकाका स्थानीय प्रशासनले वैशाख १६ गते बिहानबाट एक साताका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेका छन् । उक्त निषेधाज्ञा अर्को साता लम्ब्याउन मन्त्रिपरिषद्ले जिल्ला प्रशासन कार्यालयहरुलाई अख्तियारी दिइसकेको छ ।