हरिवन– सर्लाहीको हरिवन नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) संक्रमित बिरामीका लागि भेन्टिलेटर र अक्सिजनसहितको अस्थायी अस्पताल तयार गरेको छ ।

नगरपालिकाले एक सय शैय्याको अस्पताल र एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको उपप्रमुख रेणुका पौडेलले जानकारी दिइन् ।

उनका अनुसार उक्त अस्पतालमा ५० शैय्याको अक्सिजन बेड छ । सिकिस्त बिरामीका लागि सरस्वती अस्पतालमा तीनवटा भेन्टिलेटरको व्यवस्था गरिएको छ ।

पछिल्लो समय मुलुकमा तीव्र रुपमा फैलिरहेको नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहरले सर्लाहीलाई पनि गाँजेपछि नगरपालिकाले भेन्टिलेटर र अक्सिजनसहितको अस्पतालका साथै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।

नगरपालिकाले आफ्ना नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै वडा नम्बर–४, सासापुरस्थित स्वास्थ्य चौकीमा अक्सिजनसहितको ५० शैय्या र नयाँरोडमा रहेको सर्लाही जीवन हस्पिटलमा ६० शैय्याको व्यवस्था गरेको पौडेलले बताइन् ।

‘कोही कसैले पनि अक्सिजनकै अभावमा ज्यान गुमाउन नपरोस् भनेर उपचारका लागि स्वास्थ्यकर्मी र अक्सिजनसहितको बेडको व्यवस्था गरेका छौं,’ उपप्रमुख पौडेल भन्छिन्, ‘थप उपचार आवश्यक पर्ने बिरामीलाई सुविधासम्पन्न अस्पताल लैजान २४सै घन्टा अक्सिजनयुक्त एम्बुलेन्स तयारी अवस्थामा राखेका छौं ।’

नगरपालिकाले कोरोना रोकथाम र संक्रमितको उचित उपचारको लागि भरमग्दुर प्रयास गरिरहेको उनको भनाइ छ ।

‘हामी नगरबासीलाई कसरी जोगाउन सकिन्छ भनेर अहोरात्र खटिएका छौं,’ उपप्रमुख पौडेल भन्छिन्, ‘बाहिरबाट नगरमा प्रवेश गर्ने व्यक्तिहरुलाई राख्न क्वारेन्टिनको पनि व्यवस्था गर्नेछौं ।’ क्वारेन्टिन स्थल बनाउन ठाउँको खोजी तीव्र गतिमा भइरहेको उनको भनाइ छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय