काठमाडौं– कोभिड–१९ संक्रमण नियन्त्रणको लागि निषेधाज्ञा जारी गर्ने जिल्लाको संख्या ७३ पुगेको छ । मुलुकमा अब जम्मा चार जिल्लाले मात्रै निषेधको आदेश जारी गर्न बाँकी छ ।

७३ मध्ये सात जिल्लामा आंशिक निषेधाज्ञा छ । तैपनि संक्रमणको गति कम हुनुको साटो बढ्दो छ । नेपालमा वैशाख ७ गतेदेखि निषेधाज्ञा जारी गरी संक्रमण नियन्त्रणको प्रयास भएको थियो । वैशाख १६ गतेदेखि भने आदेश जारी गर्ने क्रम तीव्र भएको थियो । एक महिनाका अवधिमा मुलुक नै ठप्प हुन पुगेको छ ।

स्वास्थ्य विज्ञले कोरोनाको यसपालिको परिवर्तित रुप गत वर्षभन्दा बढी संक्रामक रहेकाले अझै केही हप्ता घरमै बसेर संक्रमणको जालो तोड्नुपर्ने सुझाव दिएका छन् ।

अहिले मनाङ, मुस्ताङ, तेह्रथुम र खोटाङले निषेधाज्ञा जारी गरेका छैनन् । संक्रमण फैलिन नदिन प्रयास भने जारी राखिएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मनाङले भने वैशाख १३ गतेको निर्णयानुसार आवश्यक तयारीका साथ सम्पर्कमा रहेका व्यक्तिको परीक्षणलाई तीव्रता दिँदै आएकामा आजको निर्णयले अत्यावश्यक काम नपरी बाहिर ननिस्कन, जात्रा मेलालगायत भीडभाड हुने काम नगर्न र विवाहमा १५ भन्दा बढी सहभागी नहुन निर्देशन जारी गरेको छ ।

मुस्ताङले जिल्ला प्रशासन कार्यालयबाट दिने अत्यावश्यकबाहेक सेवा रोकिसकेको छ । खोटाङले आदेश जारी नगरे पनि भीडभाड हुने गतिविधिमा रोक लगाइसकेको छ ।

रुकुम(पूर्व)ले पनि आज रातिदेखि लागू हुने गरी आंशिक आदेश जारी गरिसकेको छ । उसले गाडीका हकमा जिल्लाभर नै सञ्चालनमा रोक लगाएको तथा अन्य विषयमा स्थान तोकेर आदेश जारी गरेको छ । कम संक्रमित रहेको तेह्रथुमले भने अहिलेसम्म कुनै सूचना जारी गरेको छैन ।

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहाल आवश्यकता अनुसार निषेधको आदेश जारी गरी रोकथाममा लाग्न जिल्लालाई निर्देशन दिइसकेको र सोहीअनुसार आदेश जारी गरी कार्यान्वयन भइरहेको बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय