काठमाडौं– गृह मन्त्रालयले गए राति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरूलाई फिर्ता बोलाएको छ ।
घिमिरेलाई गृह मन्त्रालयमा फिर्ता बोलाएर उनको ठाउँमा संखुवासभाका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्याललाई खटाइएको छ । यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिएको छ भने प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरी नायव महानिरीक्षक शेखर खनाललाई कोशी प्रदेश प्रहरी कार्यालय पठाउने निर्णय गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख, प्रहरी उपरीक्षक केशव थेवेलाई भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल खटाइएको छ । थेवेको स्थानमा उक्त विमानस्थलमा कार्यरत प्रहरी उपरीक्षक पुष्पराज मल्ललाई खटाउने निर्णय गरिएको छ ।
यस्तै, सशस्त्र प्रहरी बल नेपाल कप्तानगञ्जमा कार्यरत प्रहरी नायव उपरीक्षक नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ । उनको ठाउँमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय, काठमाडौंमा कार्यरत प्रहरी नायव उपरीक्षक मदन नाथलाई पठाइएको छ ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडपका क्रममा प्रहरीले चलाएको गोलीले एक जनाको निधन भएको थियो । घटनामा परेर नौ जना सर्वसाधारण, १० जना नेपाल प्रहरी र पाँच जना सशस्त्र प्रहरी गरी २४ जना घाइते भएका छन् ।
घटनाको विषयमा छानबिन गर्न गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । समितिलाई एक साताभित्रमा प्रतिवेदन बुझाउन भनिएको छ ।
घटनापछि थप समस्या उत्पन्न हुन नदिन जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज र हरिनगर गाउँपालिकाका केही क्षेत्रमा आज बिहान ७ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी छ ।









