नयाँ दिल्ली– कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घन्टामा चार हजारको व्यक्तिको ज्यान गएको जनाएको छ ।

मन्त्रालयका अनुसार कोभिडबाट पछिल्लो २४ घन्टामा तीन लाख ४३ हजार व्यक्ति संक्रमित भएका छन् भने तीन लाख ४४ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् ।

भारतमा गत बुधबार एकै दिन चार हजार २०५ जनाको संक्रमणबाट ज्यान गएको थियो । बिहीबार पनि चार हजार १२० जनाको मृत्यु भएको थियो । भारतमा कोरोनाभाइरस संक्रमणबाट हालसम्म दुई लाख ६२ हजार ३१७ जनाको मृत्यु भइसकेको छ ।

भारत विश्वमै तेस्रो सर्वाधिक प्रभावित मुलुक हो । पहिलो सर्वाधिक असर परेको अमेरिकामा हालसम्म पाँच लाख ९८ हजार तथा दोस्रो सर्वाधिक असर परेको मुलुक ब्राजिलमा चार लाख ३० हजारको मृत्यु भइसकेको छ ।

कोरोनाभाइरस महामारी सुरु भएयता भारतमा कुल संक्रमित दुई करोड ४० लाखमध्ये दुई करोड ७९ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार भारतमा हाल ३७ लाख व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् ।

गत जनवरीबाटै खोप अभियान सुरु गरेको भारतमा हालसम्म १७ करोड ९३ लाख व्यक्तिलाई खोप लगाइएको छ ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतभर ३१ करोड १३ लाख कोभिड नमुना परीक्षण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय