वासिंटन– अमेरिकामा रोजगारी गुमाएकाको संख्या निरन्तर ओरालो लागेको छ । कोरोनाभाइरस महामारीका कारण गत वर्षको सुरुमा ठूलो संकट व्यहोरेको अमेरिकी श्रम बजारमा व्यापक सुधार आएको श्रम विभागले बिहीबार जनाएको छ ।

पछिल्लो विवरणमा चार लाख ७३ हजार व्यक्तिले मात्र हाल रोजगारी गुमाएको विभागको सर्भेले देखाएको छ ।

श्रम तथ्यांक ब्युरोले बिहीबार सार्वजनिक गरेको साप्ताहिक प्रतिवेदनमा बेरोजगारी भत्ताका लागि आवेदन गर्नेको संख्यामा ३४ हजारले कमी आएको उल्लेख छ ।

अघिल्लो साता करिब पाँच लाख ७ हजार व्यक्तिले बेरोजगारी भत्ताका लागि आवेदन गरेकामा पछिल्लो साता चार लाख ७३ हजारले मात्र आवेदन दिएका छन् ।

यो गत वर्ष सन् २०२० को मार्च १४ मा बेरोजगारी दाबी गरेयता सबैभन्दा कम हो । त्यसबखत कुल दुई लाख ५६ हजारले बेरोजगारी भत्ताका लागि दाबी गरेका थिए ।

यसैबीच, राज्य र संघीय दुवैतर्फका कार्यक्रमबाट सुविधा दाबी गर्ने व्यक्तिको कुल संख्या छ लाख ९६ हजारले कमी आएर एक करोड ६८ लाख ५५ हजार रहेको पाइएको छ ।

रिपब्लीकन शासित धेरैवटा राज्यले संघीय बेरोजगार कार्यक्रमलाई जुनभित्रै अन्त्य गर्ने घोषणा गरेका छन् । यो कार्यक्रम आगामी सेप्टेम्बरभित्र समाप्त हुँदैछ ।

संघीय सहायता कार्यक्रममा राज्यबाट प्रदान गरिने सुविधाका अतिरिक्त साप्ताहिक ३०० अमेरिकी डलरको बेरोजगार भत्ताको व्यवस्था गरिएको छ ।

गभर्नरहरुको भनाईमा संघीय सरकारले उपलब्ध गराएको भत्ताका कारण मानिसहरुले काम खोज्न अभिरुचि नदेखाएको र श्रमिकको अभाव हुन थालेको छ ।

अमेरिकी अर्थमन्त्री जानेट येलेनले गभर्नरका तर्कको खण्डन गरेका छन् । हालै ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जेनेटले बालबच्चा र वृद्धवृद्धाका स्याहारका साथै महामारीको त्रास तथा व्यक्तिगत स्वास्थ्य समस्याले पनि मानिसहरु काममा जान हच्किइरहेका र त्यो स्वाभाविक रहेको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय