काठमाडौं– छिमेकी भारतमा नयाँ कोरोना संक्रमित थपिने क्रम घटेको छ । मे ६ का दिन ४ लाख १२ हजार संक्रमित भेटिएको भारतमा त्यसको नौ दिनपछि शनिबार ३ लाख २६ हजार ९८ जनामात्रै नयाँ संक्रमित थपिएका छन् ।
भारतको संघीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार शनिबार कोरोनाबाट हुने मृत्यु पनि अघिल्ला केही दिनको तुलनामा घटेको छ । पछिल्लो २४ घन्टामा भारतमा ३ हजार ८९० कोरोना संक्रमितको निधन भएको छ । बुधबार भारतमा एकै दिन ४ हजार २०५ जना संक्रमितको निधन भएको थियो ।
शुक्रबार मात्रै पनि ४ हजारजनाको निधन भएको थियो । मे ६ यता नयाँ संक्रमित भेटिने दर क्रमशः घट्दै शनिबार हुँदा ३ लाख २६ हजारमा सीमित भएपछि भारतमा कोरोना संक्रमणको दोस्रो लहर क्रमशः मत्थर हुँदै गएको अनुमान गर्न थालिएको छ ।