काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले काठमाडौंका विभिन्न अस्पताललाई अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीले काठमाडौंका सरकारी अस्पतालहरूलाई पिपिई सेट, सर्जिकल मास्क, सर्जिकल पञ्जा, भिटामिन सी ट्याब्लेट, सिटामोल ट्याब्लेट लगायत अत्यावश्यक सामग्री वितरण गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

चेम्बरको टोलीले नेपाल प्रहरी अस्पताल, कान्ति बाल अस्पताल, परोपकार मातृ तथा बाल अस्पताल थापाथली, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, छत्रपाटी निःशुल्क अस्पतालमा आइतबार सामग्री वितरण गरेको हो ।

चेम्बरले कोभिड–१९ को दोस्रो लहरका कारण उत्पन्न स्वास्थ्य संकट समाधानका लागि विपद् व्यवस्थापन समितिका सभापति एवं कार्यसमितिका उपाध्यक्ष दीपककुमार मलहोत्राको संयोजकत्वमा ‘नेपाल चेम्बर कोभिड–१९ केन्द्रीय व्यवस्थापन समिति’ गठन गरी विभिन्न अभियान सञ्चालन गरिरहेको छ । उक्त अभियानअन्तर्गत बिरामीको बढी चाप हुने सरकारी अस्पतालहरूमा अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गरिएको चेम्बरले जनाएको छ ।

वीर अस्पतालका तर्फबाट प्रा.डा. रमिला श्रेष्ठ, त्रिवि शिक्षण अस्पतालका प्रा.डा. पवनराज चालिसे, छत्रपाटी निःशुल्क चिकित्सालयका डा. मनोज श्रेष्ठ र नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर एवं प्रहरी अतिरिक्त महानिरीक्षक आशा सिंहले सामग्री बुझेका थिए । कान्ति बाल अस्पतालका निमित्त निर्देशक डा. रामहरि चापागाईंलाई र परोपकार मातृ तथा बाल अस्पतालका डा. आशालक्ष्मी प्रजापतीलाई सामग्री हस्तान्तरण गरेको विज्ञप्तिमाा उल्लेख छ ।

अस्पतालहरूमा अत्यावश्यक अक्सिजन तथा सिलिन्डरको अभाव देखिएकाले यथाशीघ्र सिलिन्डर तथा अक्सिजन कन्सेन्ट्रेटर आयात गरी एक साताभित्र अस्पतालहरूमा वितरण गरिने चेम्बर अध्यक्ष मल्लले जानकारी दिए ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा चेम्बरका अध्यक्ष मल्लसहित वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवाल, उपाध्यक्ष दीपककुमार मलहोत्रा र उपाध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठ, कार्यसमिति सदस्यहरू नवराज ढकाल र सन्तोष पाण्डेको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय