काठमाडौं– पछिल्लो समय कोरोना महामारीको हटस्पट बनेको नेपाल र भारत दुवैमा नयाँ संक्रमित थपिने दरमा कमी देखिएको छ । छिमेकी भारतमा ४ लाख १४ हजार नाघेको दैनिक संक्रमण दर आइतबार ३ लाख ११ हजारमा ओर्लेको छ ।

नेपालमा पनि दैनिक संक्रमितको संख्या क्रमशः घट्न थालेको छ । आइतबार त मृतक संख्या पनि अघिल्ला केही दिनको तुलनामा घटेको छ ।

कोरोना जित्नेको संख्या बढ्दै गएको देखिन्छ । देशका लगभग सबै भागमा लागू गरिएको निषेधाज्ञाले संक्रमण दर घटाएको ठानिएको छ ।

पछिल्ला दिनमा औसत ४५ प्रतिशत पुग्ने गरेको दैनिक संक्रमण दर आइतबार घटेर ३७.४४ प्रतिशतमा सीमित भएको छ ।
पछिल्लो २४ घन्टामा ६ हजार ६४८ जना संक्रमणमुक्त भएका छन् भने निको हुने दर ७४.६ प्रतिशत छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ७३६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५३९ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा पोजेटिभ रिपोर्ट आएको हो । यो २४ घन्टामा १४५ जना संक्रमितको निधन भएको छ ।

यसअघि शनिबार देशभर ८१६७ जना संक्रमित थपिएका थिए भने ५ हजार ४५५ जना निको भएका थिए । यस्तै मृतकको संख्या १८७ थियो । शुक्रबार ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको थियो भने २०३ जनाले ज्यान गुमाएका थिए ।

बिहीबार ८ हजार ९६० जनामा संक्रमण पुष्टि भएको थियो । त्यस दिन २१४ जनाले ज्यान गुमाएका थिए । बुधबार ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको र १६८ जनाले ज्यान गुमाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । मंगलबार पनि ९ हजार माथि नै संक्रमित थपिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय