काठमाडौं– नेपालबाट पहिलोपटक एक खर्बभन्दा बढी मूल्यको वस्तु निकासी भएको छ ।

चालु आर्थिक वर्ष २०७७–७८ को १० महिनाको अवधिमा एक खर्ब भन्दा बढीको निकासी भएको हो । यस अवधिमा कुल निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३२.१९ प्रतिशतले बढेर १ खर्ब ८ अर्ब ४७ करोड नाघेको हो ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आव ०७७–७८ को साउनदेखि वैशाखसम्म (१० महिना) को तथ्यांक अनुसार यस अवधिमा एक खर्ब आठ अर्ब ४७ करोड रुपैयाँ बराबरको स्वदेशी वस्तु निर्यात भएको छ । गत वर्षको सोही अवधिमा ८२ अर्ब ६ करोड ४६ लाखको वस्तु निर्यात भएको थियो ।

सरकारले गत आव ०६६–६७ मा एक खर्बभन्दा बढीको स्वदेशी वस्तु निर्यात गर्ने लक्ष्य राखेको थियो । लक्ष्य तोकेको ११ वर्षपछि चालु आवको १० महिनामा उक्त परिमाणमा निर्यात भएको छ ।

यसैगरी, यो १० महिनाको अवधिमा १२ खर्ब ५४ अर्ब ११ करोड रुपैयाँ बराबरको विदेशी वस्तुको आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा आयात २२.३४ प्रतिशतले बढेको छ । गत आवमा सोही अवधिमा १० खर्ब २५ अर्ब १३ करोड ७७ लाख बराबरको वस्तु तथा सेवा आयात भएको थियो ।

तथ्यांक अनुसार यस वर्ष व्यापार घाटा २१.४८ प्रतिशतले वृद्धि भएको छ । वैदेशिक व्यापारमा आयातको हिस्सा ९२.४ र निर्यातको हिस्सा ७.९६ प्रतिशत रहेको छ । समग्र आयातमा आयातको हिस्सा मात्र ०.५९ प्रतिशतले घटेको छ ।

विभागको तथ्यांक अनुसार १० महिनामा ११ अर्ब ४५ अर्ब ६३ करोड बराबरको वैदेशिक व्यापार घाटा भएको छ । गत वर्षको सोही अवधिको व्यापार घाटा नौ खर्ब ४३ अर्ब सात करोड ३० लाख थियो । गत वर्षको तुलनामा यस वर्ष २१.४८ प्रतिशतले व्यापार घाटा बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय