काठमाडौं– नेपालमा कोरोना भाइरसको दैनिक संक्रमण दर क्रमशः घट्न थालेको छ । पछिल्लो २४ घन्टामा थप ६७१४ जनामा मात्र कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता समीरकुमार अधिकारीले बताए अनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणबाट ६ हजार ६ सय ७७ र एन्टिजेन विधिबाट ३७ जनाको नमुनामा कोरोना पोजेटिभ देखिएको हो । १९ हजार ३ सय ५२ नमुनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा पोजेटिभ देखिएको हो ।
यो संक्रमण दर कुल नमुनाको ३५ प्रतिशत हाराहारी हो । मन्त्रालयका अनुसार यस अवधिमा ६ हजार ७ सय १६ संक्रमणमुक्त भएका छन् भने १४५ जनाको मृत्यु भएको छ । कोरोनाको दोस्रो लहर सुरु भएयता नयाँ संक्रमित थपिनेभन्दा निको हुनेको संख्या बढी भएको यो पहिलोपटक हो । हालसम्म कोरोनाबाट निको हुनेको दर ७६.९ प्रतिशत रहेको छ ।
मृत्यु संख्या पनि अघिल्ला दिनहरुको तुलनामा बुधबार घटेको छ । अघिल्लो दिन १६९ जना संक्रमितको निधन भएको थियो ।