काठमाडौं– चालु आर्थिक वर्ष २०७७–०७८ मा नेपाली अर्थतन्त्रको आकार ४२ खर्ब ६६ अर्ब ३२ करोड बराबर पुग्ने अनुमान अर्थ मन्त्रालयले गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने क्रममा सो जानकारी दिएका हुन् । यो अनुमान उत्पादकको मूल्यमा आधारित छ । उनले कोभिड महामारीका कारण आर्थिक वर्ष २०७६–७७ मा आर्थिक गतिविधिमा संकुचन आए पनि चालु आर्थिक २०७७–७८ वर्षका प्रमुख आर्थिक परिसूचकहरु सन्तोषजनक रहेका बताएका छन् ।

‘चालु आर्थिक वर्षको अनुमानित राष्ट्रिय वार्षिक कुल गार्हस्थ्य उत्पादन (उत्पादकको मूल्यमा) ४२ खर्ब ६६ अर्ब ३२ करोड रहने प्रारम्भिक अनुमान रहेको छ,’ आर्थिक सर्वेक्षण सार्वजनिक भएपछि अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आर्थिक वर्ष ०७७–७८ मा कोभिड–१९ महामारीबाट नेपालको अर्थतन्त्र प्रभावित हुन गई आर्थिक वृद्धिदर पछिल्लो दुई दशकमै पहिलोपटक २.१२ प्रतिशतले ऋणात्मक रहेकोमा चालु आर्थिक वर्षमा आर्थिक गतिविधिमा सुधार आएकोले स्वास्थ्य संकटको अवस्थामा क्रमशः सुधार आउने अपेक्षासहित नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा ४.०१ प्रतिशत रहने अनुमान गरिएको छ ।’

साथै आर्थिक वर्ष २०७६–७७ मा कर्णाली र सुदूपश्चिमबाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर ऋणात्मक रहेकोमा चालु आर्थिक वर्ष २०७७–७८ मा सबै प्रदेशको आर्थिक वृद्धिदर ३.५ प्रतिशतभन्दा माथि रहने अनुमान छ । यद्यपि चालु आर्थिक वर्षको तेस्रो चौमासिकबाट तीव्र गतिले फैलिइरहेको कोभिड–१९ को दोस्रो लहरको कारण अनुमानित आर्थिक वृद्धिदर हासिल गर्ने कार्य चुनौतीपूर्ण रहेको विज्ञप्तिमा उल्लेख छ ।

चालु आर्थिक वर्षमा कृषि, उद्योग र सेवा क्षेत्रको कुल मूल्य अभिवृद्धि क्रमशः२.६ प्रतिशत, ५.० प्रतिशत र ४.४ प्रतिशतले वृद्धि हुने अनुमान छ । त्यसैगरी, चालु आर्थिक वर्षको कुल मूल्य अभिवृद्धिमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २५.८ प्रतिशत, १३.१ प्रतिशत र ६१.१ प्रतिशत रहने अनुमान छ ।

आर्थिक वर्ष ०७६–७७ मा कुल लगानी ३०.४ प्रतिशतले संकुचन भएकोमा आर्थिक वर्ष २०७७–७८ मा १८.१ प्रतिशतले वृद्धि भई १३ खर्ब १२ अर्ब ७१ करोड पुग्ने अनुमान छ । कुल गार्हस्थ उत्पादनसँग बचतको अनुपात ६.६ पुग्ने अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय