काठमाडौं– सरकारले अबको केही दिनमा कोभिड–१९ विरुद्धको खोप आउने दाबी गरेको छ । कोरोना भाइरस विरुद्धको खोप अभाव भइरहेका बेला सरकारले हप्ता १० दिनमा दिनमा खोप ल्याउने दाबी गरेको छ । त्यसका लागि विभिन्न खोप उत्पादक मुलुकसँग छलफल भइरहेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए ।

नेपाल स्वास्थ्य पत्रकार मञ्चले गरेको ‘नेपालमा खोपको उपलब्धता र चुनौती’ विषयक अन्तरक्रियामा उनले खोप खरिदमा केही दिनमै निष्कर्षमा पुग्ने बताए । ‘१० दिनमा नभए पनि त्यसको थोरै एक–दुई दिन अघिपछि ‘ब्रेक थ्रु’ हुन्छ,’ उनले भने, ‘खोप सहायता दिने केही मुलुकले पनि हप्ता दस दिनभित्रमा घोषणा गर्दैछन् । खोपमा केही न केही प्रगति हुनेछ ।’

राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिनफिङबीच भएको टेलिफोन सम्बादपछि चीनले १० लाख मात्रा भेरोसेल खोप अनुदानमा उपलब्ध गराउने आश्वासन दिएको छ ।

सरकारले करिब एक करोड खोप खरिद गर्न लागेको परराष्ट्रमन्त्री ज्ञवालीले बताए । चीनको सिनोफार्म र अमेरिकाको जोन्सन एन्ड जोन्सन कम्पनीबाट ५०–५० लाख मात्राका दरले खोप खरिद गर्ने अन्तिम तयारी भइरहेको उनको भनाइ छ ।

उनका अनुसार खोप खरिदका लागि चीन, अमेरिका, रुस र बेलायतसँग खोप खरिदका लागि सरकारले उच्चस्तरीय संयन्त्र परिचालन गरिएको छ । सरकारले चीनको सिनोफार्म, अमेरिकाको जोन्सन एन्ड जोन्सन, रुसको स्पुतनिक भी उत्पादन गर्ने कम्पनीसँग र बेलायत सरकारलाई पत्राचार गरिसकेको छ ।

खोप खरिदका लागि अर्थ मन्त्रालयले ३६ अर्बको स्रोत सुनिश्चितता गरिसकेकाले सरकारले जतिसक्दो चाँडो खरिद गर्ने बताए । भारतसँग खरिद गरिसकेको ‘कोभिसिल्ड’ ल्याउन नेपालले उच्चतहमा छलफल गरिरहेको मन्त्री ज्ञवालीले जानकारी दिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय